त्रिशुलीमा फेरि अर्को बस खस्यो

  • 19 अक्टोबर 2016
तस्वीर कपीराइट Ishwor Joshi
Image caption त्रिशुलीमा बस खसे लगत्तै उद्धार कार्य शुरु गरिएको प्रहरीले जनाएको छ (फाइल फोटो)

काठमाडौंबाट भैरहवातर्फ गइरहेको एक यात्रुवाहक बस मंगलबार अबेर त्रिशुली नदीमा खस्दा कम्तीमा एक जनाको ज्यान गएको र एकजना हराइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ-मुगलिङ सडक खण्डको ऋद्धि खोला नजीक सो बस सडकबाट नदीमा खसेको बताइएको छ।

लु १ ख ७३९१ नम्बरको बस सडकबाट करीब १ सय ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले बताए ।

दुर्घटना स्थलबाट १० जनाको उद्धार गरी उपचारको लागि भरतपुर ल्याउने क्रममा एक जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिहले बीबीसीलाई बताए ।

खोजी कार्य

बसको आधा भाग पानीमा डुबेको अबस्थामा रहेको र दुर्घटना स्थल वरपर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बसमा ११ जना यात्रु रहेको अनुमान प्रहरीको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन।

त्रिशुली नदी

यसअघि गत भदौ महिनाको दोश्रो साता रौतहटको गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा कम्तीमा २० जनाको ज्यान गएको थियो।

कम्तीमा १७ जना घाइते भएका थिए।

केही साता अघि नेपाल सरकारका पूर्व मुख्य सचिव माधबप्रसाद घिमिरे र उनका परिवारजन चढेको जीप घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो।

काठमाडौं-नारायणघाट सडक खण्डमा पटक पटक दुर्घटनाहरु भैरहेता पनि सुरक्षाको पर्याप्त सावधानी नअपनाइएको सर्वसाधारणको गुनासो छ।