संरक्षणको पर्खाइमा नालापानी

  • 20 अक्टोबर 2016
Image caption नालापानी किल्ला भारतको उत्तराखण्डमा अवस्थित छ

दुईसय वर्षभन्दा अघि भएको ऐतिहासिक नालापानी युद्धका बेला बलभद्र कुँवरले हाल भारतमा रहेको खलंगामा बनाएको प्रसिद्ध किल्लाको संरक्षणका लागि स्रोतको अभाव खेपिरहेको देहरादुनका नेपाली समुदायले बताएका छन्।

उक्त सम्पदास्थलको संरक्षण, उत्खनन तथा निर्माणका लागि भारत सरकारले बजेट र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई छ।

आफ्नो पुर्खाले अंग्रेजसँग बहादुरीका साथ लडेको उक्त स्थानको समयसमयमा भ्रमण गर्न उनीहरुले उच्च नेपाली अधिकारीलाई पनि आग्रह गरेका छन्।

प्रशंसा

तस्वीर कपीराइट .
Image caption खलंगा स्मारक भारतको पुरातत्व विभाग मातहतमा छ

देहरादुन शहरबाट झण्डै ५ किलोमिटर टाढा सहस्त्रधारा सडकमा रहेको खलंगा स्मारक विश्वकै यस्तो दुर्लभ युद्ध स्मारक हो जसमा लडाईंमा जीत हात पारेको अंग्रेज सेनाले वीरताका साथ लडेको भनेर आफ्नो दुश्मन सैनिकको प्रशंसा गरेको छ।

दुईसय वर्षभन्दा अघिको एउटा भीषण लडाईं सम्झाउने यो स्मारक आफैँमा एकदम शान्त ठाउँमा छ, तर नजिकैको सडकमा गुड्ने सवारी साधनको आवाजले यहाँको शान्ति विथोलिरहन्छ।

Image caption खलंगा स्मारकमा लेखिएको बलभद्रको थर त्रुटिपूर्ण रहेको नेपाली इतिहासविद् बताउँछन्।

इतिहासकारहरुका अनुसार सन् १८१४ अक्टोबरमा भएको नालापानी युद्धमा तोप र गोलीगठ्ठासहित गोर्खाली सैनिकलाई आक्रमण गर्न आएको करिब ३५ सय संख्या भएको अंग्रेज सेनाले आफ्ना सेनापति मेजर जनरल रोबर्ट रोलो जिलेस्पीसहित झण्डै ८०० सैनिक गुमाएको थियो।

महिला र केटाकेटीसहित ६०० जनाको संख्यामा रहेको गोर्खाली फौजले नालापानी पहाडमा अंग्रेज फौजले गरेको हमलालाई खुकुरी, धनुष र ढुङ्गाको सहायताले तीनपटकसम्म विफल बनाइदिएको बताइन्छ।

त्यसपछि अंग्रेज फौजले खलंगामा अवस्थित किल्लामा जाने पानीको मुहान बन्द गरिदिएपछि गोर्खाली फौजका कमाण्डर बलभद्र कुँवरले स्वेच्छाले नालापानी छोडिदिएको घोषणा गर्दै बाँकी ७० सैनिक लिएर त्यहाँबाट हिँडेको नेपाली इतिहासकारहरुले लेखेका छन्।

युद्धपछि तत्कालीन इस्ट इण्डिया सरकारले आफ्ना जनरल जिलेस्पी र बलभद्रको सम्मानमा यहाँ दुईवटा ढुंगाको स्मारक बनाएका छन् जसमा बलभद्र र उनको फौजलाई आफ्ना ‘वीर शत्रु’ भनी सम्बोधन गरिएको छ।

Image caption आफ्ना सेना नायकको सम्मानमा ब्रिटिश सेनाले खडा गरेको स्मारकमा गोर्खाली फौजको मुक्तकण्ठले प्रशंसा गरिएको छ।

त्यसबेला बलभद्रको साहसका कारण गोर्खालीहरुको बहादुरी स्थापित भएको खलंगा बलभद्र विकास समितिका उपाध्यक्ष तथा भारतीय सेनाका अवकाशप्राप्त कर्णेल सिबी थापा बताउँछन्।

उनी भन्छन्, “जति पल्टनले आज गोर्खे टोपी लगाएर परेड खेल्छन्, त्यो सबै यिनै बलभद्रको देन हो, उनको बहादुरी देखेर अंग्रेजहरुले १८१५ मा गोर्खा रेजिमेन्ट शुरु गर्यो, त्यसबेलाको बहादुरीकै कारण हामीहरुले गोर्खा टोपी र खुकुरी लिएर हिँड्न पाइरहेका छौँ।”

‘त्रुटि’

देहरादुनको उक्त स्मारकमा बलभद्र कुँवरलाई ‘थापा’ भनेर उल्लेख गरिएको भए पनि त्यो त्रुटिपूर्ण भएको उनको बारेमा अध्ययन गरेका एकजना नेपाली इतिहासविद् बताउँछन्।

तस्वीर कपीराइट Nepal Army
Image caption नेपाली सेनाले आफ्नो इतिहास सम्बन्धी पुस्तकमा ब्रिटिश सेनाले नालापानी किल्ला गोलाबारी गरी ध्वस्त पारिदिएको उल्लेख गरेको छ

नालापानीका नायकहरु शीर्षकको पुस्तकसमेत लेखेका त्रिभुवन विश्वविद्यलयको नेपाली इतिहास संस्कृति तथा पुरात्व विभागका पूर्व प्रमुख धनबहादुर कुँवर भन्छन्, “उनका बाबु चन्द्रवीर कुँवर सेनापति थिए, आफ्ना बुवाको निधन भयो, अमरसिंह थापाले दरवारमा लेखेर पठाए अनि उनलाई कप्तानी दिइएको चिठ्ठी गयो त्यसपछि नालापानीको जिम्मा दिइयो, लगभग १८१३ मा उनी त्यता गए।”

इतिहासकार कुँवरका भनाईमा नालापानी लडाईंपछि केही समय नेपाल फर्किएका बलभद्र सन् १८२४ मा अफगानिस्तानमा राजा रणजित सिंहको फौजको पक्षमा लड्दा मारिएका थिए।

तस्वीर कपीराइट .
Image caption बलभद्र कुँवरलाई एकजना राष्ट्रिय विभूतिका रुपमा नेपालमा सम्झने गरिएको छ

कतिपयले भाडाको सिपाही भनेर टिप्पणी गर्ने गरे पनि बलभद्र कुँवर अहिले पनि देहरादुनसहित भारतका कैयौं स्थानका नेपाली भाषी समुदायको गर्व र पहिचानको आधारस्तम्भका रुपमा उभिएका छन्।

किल्ला

देहरादुनको मूल शहर नजिकै रहेको खलंगा स्मारक भारतीय पुरातत्व विभागले संरक्षण गरिरहेको भएपनि त्यहाँ भन्दा केही पर नालापानी पहाडमा अवस्थित त्यसबेलाको युद्ध मैदान अझै संरक्षणको पर्खाईमा छ।

वन क्षेत्रमा पर्ने यो इलाकामा देहेरादुनबासीले बलभद्रको सम्मानमा एउटा युद्ध स्मारक निर्माण गरेका छन् जसमा उचित रेखदेख हुन नसकिरहेको देखिन्छ।

लगभग सुनसान रहने उक्त क्षेत्र दुर्व्यसनीको अखडा भएको गुनासो सुनिन्छ र त्यहाँ बनाइएका कतिपय संरचना फुटिसकेको देखिन्छ।

तस्वीर कपीराइट bbcnepali
Image caption नालापानी किल्लाको संरक्षणमा भारत सरकारले ध्यान दिनुपर्ने स्थानीय नेपालीभाषी समुदायले माग गरेका छन्

स्थानीय गोर्खा सोसियल कल्चरल फाउन्डेनका अध्यक्ष सूर्यबिक्रम शाही खलंगा त्यसबेलाको लडाईं क्षेत्र संरक्षणमा भारत सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन्।

उनी भन्छन्, “यहाँ तलपट्टी रहेको किल्ला जस्ताको तस्तै छ, त्यहाँ बंकरहरु थियो त्यहाँ उत्खन्न गरियो भने केही भेटाउन सकिन्छ, भारत सरकारले यसलाई जतिसक्दो चाँडो सरक्षण गर्ने जिम्मा लिनुपर्यो र ब्रिटिश सरकारसँग पनि ऐतिहासिक सामाग्रीहरु मगाउनुपर्यो अनि सङ्ग्रालय बनाउनुपर्यो जसले गर्दा यहाँको इतिहास दुनिँयाले कहिल्यै भुल्न नसकोस्।”

गोर्खा सोसियल कल्चरल फाउन्डेसनका अध्यक्ष शाहीले सम्पदास्थल निर्माण गरिएको स्थानमा गरिएको उत्खननमा तोपका दुईवटा गोलाहरु फेला परेको उल्लेख गर्दै उनले तिनलाई स्थानीय पुरातत्व विभागका अधिकारीहरुलाई बुझाइएको जानकारी दिए।

भारत सरकारले विगतमा स्मारक निर्माणका लागि जग्गा उपलब्ध गराएको र स्मारकसम्म पुग्ने पदयात्रा मार्ग बनाउन ५० लाख रुपैयाँ दिएको स्थानीय अगुवाहरु बताउँछन्।

तर उक्त क्षेत्रमा थप उत्खनन र अन्वेषणको काम अघि बढाएर खलंगालाई एउटा ऐतिहासिक धरोहर बनाइनुपर्ने उनीहरुको धारणा पाइन्छ।

आफ्ना कतिपय विशेष योजनाहरु आर्थिक श्रोतको अभावमा अघि बढाउन नसकिएको उल्लेख गर्दै सो सम्पदास्थलको संरक्षणका लागि काम गरिरहेको बलभद्र खलंगा विकास समितिले जनाएको छ।

Image caption वन क्षेत्रमा रहेको नालापानी पहाडको एउटा चौरमा वर्षेनी मेला आयोजना गरी बलभद्रलाई सम्झने गरिन्छ

समितिका उपाध्यक्ष एवं अवकाशप्राप्त कर्णेल सीबी थापा भन्छन्, “हामी पनि चाहन्छौँ कि जुन ठाउँमा जेनरल जेलेस्पीलाई ३१ अक्टोबर १८१४ मा गोली हानेर मारिएको थियो त्यहाँ एउटा स्मारक बनाएर उनलाई सम्मान दिउँ भनेर। त्यसो गर्न सकियो भने ब्रिटेनबाट पनि सहयोग आउनसक्छ र यो पर्यटकीय स्थल बन्न सक्छ।”

नेपाली सैनिक इतिहासबारे विभिन्न पुस्तक लेखेका नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यात अंग्रेजसँगको युद्धको समयमा नालापानीमा रहेको किल्लालाई सुदृढ पार्न बलभद्र कुँवरले महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।

उनका अनुसार उसबेला गोर्खाली फौजले ढुँगा र काठको प्रयोगबाट नालापानी पहाडको सबैभन्दा उच्च विन्दुमा किल्ला निर्माण गरेका थिए।

तस्वीर कपीराइट Prem Singh Basnyat
Image caption नालापानी किल्लाको यो तस्वीर पुरानो नक्साका आधारमा बनाइएको हो

नालापानीको रक्षार्थ बलभद्र कुँवर त्यहाँ पुग्दा किल्लाको अवस्था कमजोर रहेकाले उनले त्यसको मर्मत गराएको र गोर्खाली फौज, उनीहरुका श्रीमती र बालबालिकाले दिनरात काम गरेको उनले लेखेका छन्।

अनपेक्षित रुपमा दशैँको समय पारेर अंग्रेज फौजले आक्रमण गरेको उल्लेख गर्दै बस्न्यातले त्यसबेला नेपाली फौजहरु किल्लाको सुरक्षार्थ १२ फिट अग्लो पर्खालको बनाउन काममा तल्लीन रहेको जनाए।

समर्थन

स्थानीय नेपालीभाषी समुदायले आफ्ना पुर्खाको बहादुरीपूर्ण इतिहास बोकेको खलंगाको संरक्षण र प्रवर्द्धनमा मद्दत गर्न नेपालका निकायहरुलाई पनि आग्रह गरेका छन्।

तस्वीर कपीराइट Prem Singh Basnyat
Image caption नालापानी लडाँइबारेको यो तस्बिर छाउनीस्थित सङ्ग्रालयमा राखिएको छ

हालसम्म पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र झलनाथ खनाल अनि पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङ सो क्षेत्रको भ्रमण गरेको उनीहरु सम्झन्छन्।

नियमित रुपमा हुने नेपालका सरकार प्रमुख तथा विशिष्ट अधिकारीको भारत भ्रमणको कार्यतालिकामा उक्त ऐतिहासिक युद्धस्थल पार्न सकिए त्यसको संरक्षणमा बल मिल्ने गोर्खा डेमोक्रेटिक फ्रन्टका कार्यकारी अध्यक्ष सञ्जय मल्ल बताउँछन्।

उनी भन्छन्, “जब नेपालबाट उच्चस्तरीय प्रतिनिधिहरु यहाँ आउँछन् हामी उनीहरुलाई नालापानी लैजान खोज्छौँ, उनीहरुले आफूले इतिहासमा पढेको युद्ध भएको स्थान हेरुन् भन्ने हामी चाहन्छौं, तर सरकारी तवरबाटै कार्यक्रम बनाएर उनीहरुलाई ल्याउन सकियो भने संरक्षणको हाम्रो प्रयासलाई पनि बल मिल्छ।”

Image caption उसबेला बलभद्रले पूजा गर्ने देवी मन्दीर संरक्षणको अवश्यकता रहेको स्थानीय समुदायले बताएका छन्

प्रत्येक वर्षको नोभेम्बर महिनामा खलंगामा एकदिन भव्य मेला आयोजना गरी देहरादुनका नेपालीभाषीहरुले बलभद्र र नालापानी युद्धको सम्झना गर्ने गर्छन्। त्यस्तो समारोहमा नेपाली गीतसंगीत सहितका साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिन्छन्।

कार्तिकको दोस्रो साता हुने यसपटकको मेलामा भाग लिन ब्रिटिश सेनाको एउटा समूह पहिलोपटक आउन लागेको स्थानीय आयोजकहरुले जानकारी दिएका छन्।

कुमाऊ गढवाललगायत क्षेत्रका कतिपय मूल वासिन्दाले त्यसबेलाको साम्राज्य विस्तारलाई आफ्नो इतिहासकै क्रुर कालखण्डका रुपमा चित्रण गर्ने गरेपनि खलंगामा वर्षेनी लाग्ने मेलामा उत्तराखण्डका उच्च अधिकारी सहित सबै पक्ष सहभागी हुँदै आएको बताइन्छ।