परिणाम मान्ने ग्यारेन्टी दिन ट्रम्पद्वारा अस्वीकार

  • 20 अक्टोबर 2016
तस्वीर कपीराइट Getty
Image caption तेस्रो तथा अन्तिम प्रत्यक्ष बहसका बेला ट्रम्प र हिलरीबीच धेरै मुद्दामा चर्को बहस भएको छ

राष्ट्रपति चुनाव अगाडि भएको अन्तिम प्रत्यक्ष बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जस्तोसुकै मतपरिणाम आएपनि स्वीकार्ने ग्यारेन्टी दिन अस्वीकार गरेका छन्।

डेमोक्र्याटिक पार्टिकी उम्मेदवार हिलरी क्लिन्टनसंगको बहसका बेला ट्रम्पले चुनाव प्रणाली आफु विरुद्ध रहेको र धाँधली हुने आशंकाका कारण अहिले नै आफुले कुनै ग्यारेन्टी नदिने बताए।

उनको सो टिप्पणीले आफुलाई चकित पारेको भन्दै क्लिन्टनले अमेरिकी राष्ट्रपतिका उम्मेदवारले त्यस्तो सोच्न सक्ने र त्यस्तो अडान राख्न सक्ने आफुले यसअघि नठानेको बताइन्।

ट्रम्पका ती भनाइले अमेरिकी प्रजातन्त्रलाई बदनाम गरेको उनले आरोप लगाइन्।

विवाद

अमेरिकी राष्ट्रपतिका दुई प्रत्याशीबीच भएको करिब डेढ घण्टा लामो सो बहसमा रुस, आप्रवास, महिला, बन्दूक नियन्त्रण तथा गर्भपतनजस्ता मुद्दामा चर्काचर्की भए।

तस्वीर कपीराइट
Image caption पछिल्ला मतसर्वेक्षणहरुमा क्लिन्टन केही अगाडि देखिएको छ।

क्लिन्टनले ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पिछलग्गु भएको आरोप लगाइन् भने ट्रम्पले क्लिन्टनको अभियानले आफ्ना र्यालीहरुमा हिंसा भड्काएको आक्षेप लगाए।

बहसको शुरुमा दुई उम्मेदवारले बन्दूक स्वामित्व नियन्त्रणबारे चर्चा गरे।

क्लिन्टनले यसको नियन्त्रण गर्न पृष्ठभूमि अध्ययन गरेर मात्र विक्री गर्ने नीति ल्याउन खोजेको बताइन्।

ट्रम्पले भने बन्दूक स्वामित्वबारे अमेरिकी संविधानको दोस्रो संशोधनको रक्षा गर्ने बताए।