महाभियोग प्रकरणमा कांग्रेसभित्र मतभेद

  • 21 अक्टोबर 2016
lokman
Image caption एमाले र माओवादी केन्द्रले अख्तियार प्रमुखविरुद्ध संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गराएपछि कांग्रेस सशंकित देखिन्छ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रै अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रक्रियालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार बोल्ने नेताहरुमध्ये कतिपयले अहिलेको सत्ता गठवन्धन टुटाउने नियतले महाभियोगको प्रस्ताव अघि बढेको धारणा राखेको बताइएको छ।

फरक मत राख्नेहरुले चाहिँ महाभियोगमा समर्थन नगरे कांग्रेसप्रति जनआस्था घट्ने र त्यसले आगामी दिनमा सहमतिको राजनीति समेत भत्काउने भन्दै चिन्ता जनाएको नेताहरुले बताएका छन्।

चासो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले लिने रणनीतिबारे सर्वत्र चासो देखिन्छ।

तर बिहीबारदेखि जारी उसको केन्द्रीय कार्यसमिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएपछि उ त्यसबारे तत्काल औपचारिक निर्णय लिने मनस्थितिमा नरहेको रुपमा कतिपयले अर्थ्याएका छन्।

आफ्नै सत्तासहयात्री माओवादी केन्द्र र विपक्षी एमालेले संयुक्त रुपमा ल्याएको प्रस्तावप्रति संशकित कांग्रेसभित्र महाभियोगलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद देखिन्छ, जुन शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा पनि झल्कियो।

कांग्रेससित पर्याप्त छलफल नै नगरी महाभियोग प्रस्ताव ल्याइएको भन्दै कतिपयले बैठकमा त्यसलाई वर्तमान सत्ता गठवन्धन भत्काउने प्रयासका रुपमा व्याख्या गरे।

त्यस्तैमध्येका एक नेता एनपी साउदले भने, “महाभियोग प्रस्ताव संसदमा दर्ता भएको छ। त्यसबारे त्यहां छलफल हुंदा प्रस्ताव ल्याउने दलहरुले त्यसको औचित्य पुष्टि गर्नुप-यो। अनि बल्ल कांग्रेसले समर्थन गर्ने वा नगर्ने भन्ने कुरा बताउनसक्छ”।

अर्थ

महाभियोगबारे थुप्रै विषय सार्वजनिक भइसकेको अवस्थामा समेत औचित्य खोज्नुलाई कतिपयले महाभियोग प्रस्ताव सहयोग नगर्ने मनसायको रुपमा अर्थ्याएका छन्।

केही केन्द्रीय सदस्यले भने हाल कार्यसम्पादन गर्न नपाउने स्थितिमा रहेका अख्तियार प्रमुखको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले महाभियोग प्रस्ताव न्यायालयको क्षेत्राधिकारमाथिको हस्तक्षेप हुनसक्ने तर्क राखेको बुझिएको छ।

तर अदालतको विषय र महाभियोग प्रस्ताव बिल्कुल फरक विषय भएको भन्दै महाभियोग प्रस्तावमा समर्थन गर्न कांग्रेस चुक्न नहुने धारणा राखेका थिए।

त्यस्तैमध्येका एक नेता प्रदीप पौडेलले भने, “सही कुरालाई सही भनेर समर्थन गर्न सक्नुपर्छ। महाभियोगको मामिलामा अरु दलसंगै कांग्रेस पनि उभिएन भने त्यसले आगामी दिनमा चाहिने राजनीतिक सहमति भत्काउनेछ”।

कांग्रेस विना महाभियोग प्रस्ताव पारित गर्न संसदमा आवश्यक दुई तिहाइ मत पु-याउन सम्भव हुनेछैन।

तर अंकगणितको हिसाबले आफ्नो अपरिहार्यता बुझेको जस्तो देखिने कांग्रेस नागरिक समाजको ठूलो हिस्साको साथ पाएको अख्तियार प्रमुखविरुद्धको महाभियोगमा साथ नदिंदा राजनीतिक मूल्य चुकाउनुपर्ने चिन्तामा पनि देखिन्छ।