संविधान संशोधनबारे ओली-प्रचण्ड कुराकानी

  • 23 अक्टोबर 2016
तस्वीर कपीराइट .
Image caption संविधान संशोधनबारे प्रचण्ड र ओलीबीच कुराकानी भएको बताइएको छ

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष के पी ओलीबीच सिंहदरबारमा आइतबार संविधान संशोधनबारे कुराकानी भएको र त्यसबेला ओली पहिलाभन्दा लचिलो प्रस्तुत भएको प्रचण्डनिकट एक माओवादी नेताले बताएका छन्।

माओवादी-एमाले सत्ता गठबन्धन टुटेपछि संविधान संशोधनबारे ओली कठोर रुपमा प्रस्तुत हुँदै आएका थिए।

सभामुखको कक्षमा एक्लाएक्लै भेटवार्ता भएको उनका सहयोगीहरुले बताएका छन्।

भेटवार्ता संविधान संशोधनको विषयमा केन्द्रित रहेको प्रचण्डनिकट माओवादी नेता हरिबोल गजुरेल बताउँछन्।

उनी भन्छन्, "संविधान संशोधनको विषयमा कुराकानी भयो, संशोधन गर्न लचिलो बन्न सकिन्छ भन्नुभयो ओलीले, पहिलाभन्दा अलि लचिलो।"

विलम्ब

प्रचण्डले गत साता संसद्लाई संशोधन गर्दै तिहार या छठसम्ममा संविधान संशोधन प्रस्ताव तयार गर्ने बताएका थिए।

त्यसै बमोजिम सरकार र तराई केन्द्रित दलहरुको मधेशी मोर्चाबीच अनौपचारिक कुराकानी भइरहेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।

उनले भने, "आज पनि अनौपचारिक औपचारिक कुराकानी भइराखेको छ। नौ गते महाभियोग प्रस्तावमा छलफल शुरु हुन्छ संविधान संशोधन पनि छठ अगाडि सदनमा लगिन्छ होला।"

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण आफ्ना मुद्दा सम्बोधन गर्न सरकारले विलम्ब गरिरहेको बताए।

उनले भने, "सरकारले ढिलो गरेको छ। चाँडै गर्नुपर्छ किनभने सरकारको तीनबुँदे प्रतिबद्धता छ। सरकारले प्रतिबद्धता पूरा गर्दैन भने उसको विश्वसनीयता घट्छ राज्यकै विश्वसनीयता घट्छ। चाँडो गरोस् भन्ने हाम्रो अपेक्षा हो।"

संशोधनमा समेट्नुपर्ने मुख्य विषयमा सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभा रहेको बताइएको छ।

साढे दुई महिनाअघि संयुक्त सरकार तोडेर दुई बाटो लागेका ओली र प्रचण्ड यसै साता अख्तियार प्रमुखविरुद्ध महाभियोगबारे एकठाउँ आएका थिए।

संविधान संशोधनबारे मुख्य विपक्षीसँग दूरी घट्यो भने त्यसले भावी सत्ता समीकरणको बाटो कोर्न सक्ने ठानिएको छ।