प्याकेजमै सहमति खोज्ने पहल शुरु

  • 26 अक्टोबर 2016
तस्वीर कपीराइट .
Image caption अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोगको प्रस्तावले अन्य मुद्दालाई ओझेलमा पारेको कतिपयको बुझाई छ

तीन प्रमुख दलका प्रमुखहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग र संविधान संशोधन लगायतका विषयमा प्याकेजमै सहमति खोज्ने प्रयास शुरु गरेका छन्।

त्यसका निम्ति सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुखबीच बुधबार लामो अन्तरालपछि बालुवाटारमा संयुक्त छलफल भएको हो।

बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महत्वका चारवटा विषयमा थप छलफल गर्ने सहमति भएको बताए।

नयाँ सरकार बनेयता ठूला तीन दलका तीनजना प्रमुखबीच प्रधानमन्त्री प्रचण्डको सरकारी निवासमा पहिलो औपचारिक बैठक भएको हो।

अर्थपूर्ण

बैठकमा सहभागी पार्टी र छलफलको विषयको छनोट केही अर्थपूर्ण थियो।

सत्ताधारी माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेले संयुक्त रुपमा ल्याएको अख्तियार प्रमुखविरुद्धको महाभियोगको प्रस्ताव बैठकको एउटा विषय थियो।

ती दुई दलले समर्थन खोजिरहेको दल कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकपछि प्रतिक्रिया दिँदा संविधान संशोधनको चुनौती पहिले उच्चारण गरे।

उनले त्यसपछि मात्र बैठकमा आफूले महाभियोगबारे राखेको धारणा सुनाए।

उनले भने, “महाभियोगको कुरा भयो। यसमा हाम्रो पार्टीको निर्णय भएको छैन। प्रक्रिया पु-याएर उनको बयान लिएपछि त्यो कुरा हेर्नुपर्छ।”

अग्रसरता

बैठकमा छलफलको अर्को विषय थियो संविधान संशोधन।

जसको औचित्यमाथि महाभियोगमा माओवादी केन्द्रलाई साथ दिइरहेको नेकपा एमालेले प्रश्न उठाइरहेको छ।

बैठकपछि छलफलका विषय विषयवस्तु सुनाउँदा महाभियोग प्रस्तावलाई शुरुमा प्रस्तुत गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई पुछारतिर धकेलेका थिए।

उनले भने, “महाभियोग प्रस्तावको सम्बन्धमा, निर्वाचनको सम्बन्धमा, संविधान संशोधनको पनि विषय के गर्ने, कसो गर्ने, गर्ने/नगर्ने र संविधान कार्यान्वयन कसरी गर्ने त्यस सम्बन्धमा। चारवटा विषयमा छलफल भयो, छलफल जारी छ, फेरि अर्को दिन भेटेर कुरा गर्नुपर्छ।”

अर्को बैठकको तिथि नेताहरुले खुलाएनन्, तर एकअर्काप्रति कटुतापूर्ण कटाक्ष गर्दै आएका प्रमुख दलका नेताले आ-आफ्ना रुचि र अनिच्छाका विषयमा प्याकेजमै सहमति खोज्ने अग्रसरता लिएको देखिएको छ।