इयु-क्यानडा व्यापार सन्धिमा प्रगति

  • 27 अक्टोबर 2016
तस्वीर कपीराइट REUTERS

बेल्जियमका राजनीतिक नेताहरुले युरोपेली संघ र क्यानडा बीचको सेटा नाम दिईएको व्यापार सन्धिका बारैमा सहमतिमा पुगेको प्रधानमन्त्री शाल मिशेलले बताएका छन्।

सन्धीलाई अवरोध पुर्याईरहेका फ्रेन्चभाषी समुदायसंगको पछिल्लो वार्तामा सहमति भएको उनले बताए।

वलोनिया क्षेत्रले विशेषाधिकार प्रयोग गरेर त्यो सन्धिलाई अस्वीकार गरेपछि बिहीबार हुनुपर्ने एउटा हस्ताक्षर समारोह रद्द गरिएको थियो।

बेल्जियमले सन्धि स्वीकार गरेपछि पनि त्यसलाई इयुका अन्य २७ राष्ट्रले पनि स्वीकार गर्नुपर्ने हुन्छ।

अवरोध

बेल्जियमको संघीय प्रणाली अन्तरगत ६ वटै क्षेत्रीय संसदले अनुमोदन नगरेसम्म राष्ट्रिय सरकारले उक्त सन्धिमा हस्ताक्षर गर्न मिल्दैन।

३६ लाख जनसंख्या भएको र समाजवादी धारा प्रबल रहेको फ्रेन्चभाषी वलोनिया क्षेत्रले उक्त सन्धिको विरोधको नेतृत्व गरिरहेको थियो।

उसले श्रम, वातावरण, र उपभोक्ता अधिकारको अझ बढी सुरक्षा हुनुपर्ने माग गरिरहेको थियो।

तर पछिल्लो चरणको वार्तापछि प्रधानमनन्त्री मिशेलले आफ्नो ट्विटर मार्फत भोली मध्यरातसम्ममा सबै संसदले त्यो सन्धिलाई अनुमोदन गर्ने भन्दै त्यसलाई इयु र क्यानडाका लागि महत्वपुर्ण कदमका रुपमा व्याख्या गरे।

परिशिष्ट

क्षेत्रीय प्रमुखहरुले कृषक र सरकारहरुको अधिकारका बारेमा व्यक्त गरिएको चिन्तालाई सम्बोधन गर्ने एउटा परिशिष्ट उक्त सन्धिमा थपेको उनले बताए।

त्यो परिशिष्टलाई क्यानडा र अन्य इयु राष्ट्रहरुले पनि स्वीकार गर्नुपर्ने हुन्छ।

क्यानडाले त्यो कदमलाई सन्धि भईसकेको नभनेर सकारात्मक प्रगति भनेको छ।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले आफ्नो ट्विटरमार्फत इयुले त्यो सन्धिमाथि हस्ताक्षर गर्नका लागि सबै प्रकृया पुरा भईसकेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई सम्पर्क गर्ने बताए।

तर वलोनिया क्षेत्रका सरकाप्रमुख पौल म्याग्नेटले भने आफ्नो मागको सुनुवाई भएकोमा वलोनिया क्षेत्र धेरै खुशी भएको भन्दै सन्धीको स्वागत गरेका छन्।

केही बढी समय लगाएको भएतापनि त्यो उपलब्धी वलोनियाको लागि मात्रै होईन सबै युरोपेलीका लागि महत्वपुर्ण भएको उनले बताए।

चिन्ता

युरोपपेली संघको हालसम्मको सबैभन्दा महत्वाकांक्षी सेटा नामको यो व्यापार सन्धिका बारेमा ७ वर्षसम्म वार्ता भएको थियो।

कम्पनीहरु र राष्ट्रिय सरकारहरुबीचका विवाद सुल्झाउनका लागि नयाँ व्यापारिक अदालतको श्रृजना गर्ने योजनाका कारण वार्ता अवरुद्ध भईरहेको थियो।

त्यस्तो कदम बहुराष्ट्रिय कम्पनीहरुलाई बढी अनुकूल हुने वलोनिया को चिन्ता थियो।

भविष्यमा क्यानडाका आयातीत उत्पादनसंग प्रतिस्पर्धा गर्नुपर्ने हुनाले वलोनिया का कृषकलाई लागि अझ बढी सुरक्षा दिईनुपर्ने पनि उसको माग थियो।

सेटाका बारेमा भएको विवादले भविष्यमा इयुबाट ब्रिटेनको बहिर्गमनका बारेमा हुने व्यापार वार्ताका बारेमा पनि नयाँ चिन्ता उत्पन्न गरेको छ।