इटलीमा दुई शक्तिशाली भूकम्पको धक्का

  • 27 अक्टोबर 2016
तस्वीर कपीराइट AP
Image caption इटलीमा गत अगस्टमा भूकम्प जाँदा करिब ३ सय मानिसको ज्यान गएको थियो

मध्य इटलीमा दुईघण्टाको बीचमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्।

गत अगष्टमा झण्डै तीनसय मानिसहरुको ज्यान जाने गरी भूकम्प गएको क्षेत्र नजिकै यी पछिल्ला दुईवटा भूकम्प गएका हुन्।

स्थानीय समय ७ बजेर १० मिनेटमा माचेराटा प्रान्तमा पर्ने भिसो नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीहरुले बताएका छन्।

क्षति

पहिलो भूकम्प गएको दुईघण्टापछि ६ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सोही क्षेत्रमा गएको थियो।

दोस्रो शक्तिशाली भूकम्प जाँदासम्म धेरै मानिसहरु खतरा क्षेत्रबाट सुरक्षित ठाउँतिर सरिसकेको ठानिएको छ।

भूकम्पको केन्द्रविन्दु नजिक रहेका स्थानीय मेयरहरुले त्यहाँ केही क्षति पुगेको तर धेरै कममात्रै मानिसहरु घाइते भएको खबर दिएका छन्।

तर उज्यालो नहुँदासम्म क्षतिको अवस्था स्पष्ट नहुने उनीहरुले बताएका छन्।

अवस्था

एकजना व्यक्ति घाइते भए पनि तत्काल कुनै हताहतीका खबरहरु नआएको त्यहाँको नागरिक सुरक्षा हेर्ने निकायका प्रमुखले बताएका छन्।

तर त्यहाँ विजुलीको आपूर्ति बन्द भएको, ऐतिहासिक भवनहरुमा क्षति पुगेको र रोमको उत्तरमा पर्ने मुख्य सडकमा पहिरो गएको खबरहरु आएका छन्।

रोममा रहेकी बीबीसी संवाददाताले प्रभावित क्षेत्रमा आपतकालीन सेवा दिनका लागि अवस्थाको मुल्यांकन भइरहेको बताएकी छन्।

उनले बिहीबार उक्त क्षेत्रमा विद्यालयहरु बन्द रहने पनि बताइन्।

करिब ३ सय मानिसको ज्यान जाने गरि इटलीको दक्षिणी क्षेत्रमा भूकम्प गएको दुई महिनापछि यी दुई शक्तिशाली भूकम्प गएका हुन्।

अहिले भूकम्प गएको क्षेत्रबाट ७० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा गत अगष्ट २४ गते ६.२ म्याग्निट्युडको भूकम्प गएको थियो।

बुधबार गएको भूकम्प राजधानी रोमसहित मध्ये इटलीमा महसुस गरिएको थियो।