सार्वजनिक बिदाबारे चर्को आलोचना

  • 28 अक्टोबर 2016
तस्वीर कपीराइट sharadkc
Image caption तत्कालीन राष्ट्रपति रामबरण यादव र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीचको भेटवार्ता

सरकारले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन आगामी कात्तिक १७ गते सार्वजनिक बिदा दिन गरेको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

निकटका छिमेकीप्रति सम्मान जनाउन त्यस्तो निर्णय गरेको सरकारले जनाएको छ।

बिहीबार मन्त्रिषरिषदले भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले भने, "१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ, चीनका पनि राष्ट्रपति आउँदै हुनुहुन्छ। निकटत छिमेकीको, ठूला पाहुनाप्रति आत्मीयता देखाउन पनि खोजिएको हो।"

आलोचना

तर सामाजिक सञ्जालमा सरकारको उक्त निर्णयको चर्को आलोचना भएको छ।

एकजना अनुभवी पत्रकार सुशिल शर्मा नेपाली नेतृत्वलाई व्यंग्य गर्दै ट्वीटरमा लेख्छन्- "नुनको सोझो चिताएँ ख्वामित्।"

केदार शर्मा फेसबुकमा लेख्छन्- "छिमेकीका चरणमा एउटा सिङ्गो राष्ट्रिय दिनको बलि दिने अकर्मण्य आत्माहरू मुर्दावाद!"

नारायण गाउँले चाहिँ अलि फरक रुपमा टिप्पणी गरेका छन्- "उनकै देशका प्रान्तले त सार्वजनिक बिदा दिँदैनन्, नेपालले बिदा दिने भएछ। के नेपाली राष्ट्रपतिको भ्रमणमा भारत र चीनमा बिदा हुन्छ?"

त्यस्तै ब्रिटेनस्थित नेपाली पत्रकार चिरन शर्मा लेख्छन्- "बेलायतले पनि हाम्रो सिको गरे हुने नि विदेशी राष्ट्रपति आउँदा छुट्टि दिने चलन, वर्षैभरी बसेर खान पाइन्थ्यो प्रभुको लिला अचम्मको छ बा।"

मानसिकता

पञ्चायतकालमा राजा विदेश जाँदा र फर्किँदा बिदा दिने चलन थियो।

विदेशी राष्ट्रप्रमुखबारे पनि त्यस्तै व्यवस्था थियो।

राजा रानी र मुमा बडामहारानीका जन्मदिनमा बिदा दिइन्थ्यो।

प्रजातन्त्र हुँदै राजतन्त्र मासेर गणतन्त्र स्थापना भइसक्दा पनि उच्च पदमा पुग्ने राजनीतिकर्मीको मानसिकता परिवर्तन हुन नसकेको भन्दै चौतर्फी आलोचना भएको छ।