मिठाइ बनाइने भान्साको सरसफाइबारे चिन्ता

  • 31 अक्टोबर 2016
तस्वीर कपीराइट .

मिठाई बनाउने भान्साको सफाइमा समस्या देखिए पनि विगतको तुलनामा तिहारमा खपत हुने मिठाईको गुणस्तर सुध्रिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

मिठाईमा प्रयोग हुने अखाद्य रङ, मिति सकिएको खाद्यान्न र घ्यू-तेल प्रयोगमा भने केही वर्ष यता क्रमिक सुधार देखिएको बताइएको छ।

तिहारमा घर घरमा सेल, अनरसा लगायतका मिठा रोटी बनाइन्छ।

बर्फी, पेडा, लड्डुजस्ता पसलमा किनिने मिठाई पनि प्रशस्त प्रयोग हुने गर्छ।

सफाइ

बिक्रीका लागि बनाइने त्यस्ता मिठाई पाक्ने भान्सा भने फोहोर पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्ण चन्द्र वस्तीले बताएका छन्।

उनी भन्छन्, “सरसफाइको अवस्था अलिकति नराम्रो पाइयो । कतिपयमा साह्रै नै नराम्रो भएकाले उहाँहरुलाई हामीले बन्द गरेर सुधार गर्नुस् भनेका छौं।"

अखाद्य रंग र समय गुज्रिसकेको सामग्री प्रयोगमा भने केही वर्षयता क्रमिक सुधार आएको प्रवक्ता वस्ती बताउँछन्।

उनी भन्छन्, “सामान्यतया ठिकै छ कहीँ कहीँ त्यहाँ प्रयोग गर्ने बस्तुको मिति नभएको कहीँकहीँ मिति गुज्रेको पनि पाइयो।"

सुझाव

उनले थपे, “पहिले पहिले धेरै पटक प्रयोग भइसकेको तेल पटकपटक त्यसैलाई नफेरिकन तेल थप्दै थप्दै तार्ने गरिन्थ्यो। कहीँ कहीँ अहिले पनि त्यो चलन छ त्यस्तो भेटिएकोमा हामीले उहाँहरुलाई सुझाव दिन्छौं त्यसो नगर्नोस भनेर। धेरै त सुधार भइसकेको छ।”

देशभर यस्ता मिठाई उत्पादकका गतिविधि नियमित रुपमा जाँच गर्ने गरेको तर दशैँ र तिहारमा विशेष अनुगमन गर्ने गरिएको प्रवक्ता वस्तीले बताए।

मिठाईको गुणस्तर तुलनात्मक रुपमा सुध्रिएको भनिए पनि आम उपभोक्ताहरु मिठाईको गुणस्तर र सरसफाइप्रति ढुक्का छैनन्।

गुणस्तरहीन खाद्य पदार्थ र फोहोर भान्सामा बनाइने मिठाईले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने चिकित्सकहरुले बताउँदै आएका छन्।