भूकम्पपछि इटलीका हजारौँ पीडित घरबाहिर

  • 31 अक्टोबर 2016
तस्वीर कपीराइट EPA

तीन महिनामा गएको चौथो शक्तिशाली भूकम्पपछि मध्य इटलीमा हजारौँ मानिसहरु कार, त्रिपाल र अस्थायी अवासमा रात बिताइरहेका छन्।

गत अगष्टमा भूकम्पका कारण करिव ३ सय मानिसहरु मारिएको क्षेत्रमा आइतबार गएको ६.६ म्याग्निच्युडको भूकम्पलाई इटलीमा हालैका दशकको सबैभन्दा शक्तिशाली मानिएको छ।

यसपटक कसैले पनि ज्यान गुमाएको जस्तो देखिदैँन तर करिव २० जना घाइते भएका छन्।

शक्तिशाली परकम्पहरु महसुस गरिएका छन् र उनीहरुले चर्किएका भवनहरुमा थप क्षति पुर्याइरहेका छन्।

त्रिपाल

तस्वीर कपीराइट Reuters

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको परुजा क्षेत्रको नोर्चा शहरका केहि मानिसहरुले आफ्नै घरमा बस्ने निर्णय गरेका छन्।

तर अरुले एड्रिएटिक तटमा बनाइएको अस्थायी अवास वा शहर नजिकै त्रिपालमुनी रात काटिरहेका छन्।

इटलीका नागरिक सुरक्षा निकायका प्रमुखले भूकम्पले अवस्था बदलिदिएको भन्दै रात बिताउन निक्कै कठिन हुने टिप्पणी गरेका छन्।

आफ्नी ८ वर्षीया छोरीसहित एउटा भ्यानभित्र बसिरहेका नोर्चाका स्टेफानो बोलड्रिनीले आफू बस्दै आएको क्षेत्रमा विद्यालय, गिर्जाघर र प्रहरी चौकी सबै भत्किएको भन्दै घर फर्कन सक्ने अवस्था नरहेको बताए।

गएको अगष्टको शक्तिशाली भूकम्पपछि आएका परकम्पका कारण अघिल्लो हप्ता उच्च भूकम्पीय जोखिम रहेका घरहरुबाट मानिसहरुलाई हटाइएका कारण मानवीय क्षति हुन नपाएको ठानिएको छ।

अधिकारीहरुले टोलेनटिनो सहरबाट भग्नावशेषमा पुरिएका तीनजनाको जिवितै उद्धार गरिएको बताएका छन्।

पुनर्निर्माण

तस्वीर कपीराइट AP

भूकम्पका धक्काहरुका कारण राजधानी रोमको रेल सेवा वन्द गरिएको थियो र उत्तरको भेनिसमा पनि भूकम्पका धक्का महसुस गरिएको थियो।

प्रधानमन्त्री माटेओ रेन्ट्सीले ध्वस्त भएका सबै संरचनाको पुनर्निर्माण गर्ने भन्दै त्यसका लागि श्रोत प्राप्त हुने बताएका छन्।

मध्य इटलीमा हालैका वर्षमा कैयौं ठुला भूकम्पहरु ब्यहोरेको छ।

सन् २००९ र यसै वर्षको अगष्टमा त्यहाँ गएका दुवै ठुला भूकम्पमा तीन-तीन सयजना मारिएका थिए।

ती दुबै भूकम्पको म्याग्निच्युड ६.२ रहेको थियो र उनीहरुको गहिराई हिजो गएको भूकम्पभन्दा बढी थियो।