‘भूकम्पपछि ४० हजारलाई सहयोग पुर्याइँदै’

  • 31 अक्टोबर 2016
तस्वीर कपीराइट AP

इटलीका नागरिक सुरक्षा अधिकारीहरुले आइतबारको भूकम्पले मध्यकालीन शहर तथा गाउँहरुमा क्षति पुर्याएपछि कम्तीमा ४० हजार मानिसहरुलाई सहयोग गरिरहेको बताएका छन्।

कम्तीमा १५ हजार मानिसहरुलाई हल तथा अन्य अस्थायी आश्रयस्थलमा राखिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा सडकहरु क्षतिग्रस्त र अवरुद्ध बनेकाले राहत तथा उद्धार कार्य प्रभावित बनेको अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री माट्टेओ रेन्त्सीले पुनर्निर्माणबारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक डाकेका छन्।

अस्थिर

उनले क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण गरिने वाचा गरेका छन् तर धेरै स्थानीयबासिन्दाले गत अगस्टयता चारपटकको भूकम्पपछि आफूहरु अन्यत्र सर्न चाहेको बीबीसीलाई बताएका छन्।

प्रधानमन्त्री रेन्त्सीले भूकम्पबाट इटलीको आत्मा अस्थिर बनेको बताए।

उनले पछिल्लो भूकम्पमा कसैको ज्यान नजानु ‘ठूलै राहतको विषय’ भएको उल्लेख गरे।

तस्वीर कपीराइट franc.petrucci

आइतबारको भूकम्पमा २० जना घाइते भएका थिए र नोर्चिया नगर र वरपरका क्षेत्रमा ठूलो क्षति भएको छ।

गत अगस्टमा तीन सय जनाको ज्यान जाने गरी भूकम्प गएको क्षेत्र नजिकै आइतबार ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

आश्रय

आइतबार बिहानको भूकम्पले पहाडी क्षेत्रका शहरी तथा ग्रामीण भेगका धेरै घरहरु ध्वस्त भएका छन् वा असुरक्षित बनेका छन्।

भूकम्प प्रभावितमध्ये कतिपय मानिसहरु आफन्त वा साथीका घरमा आश्रय लिएका छन्।

धेरै मानिसहरुले अस्थायी टहराका साथै कार तथा खुला आकाशमुनि रात बिताएका छन्।

एड्रियाटिक तटीय क्षेत्रका होटेलमा झण्डै चार हजारले आश्रय पाएका छन्।

एउटा ४ दशमलव २ म्याग्निच्युडसहित आइतबार राति सयभन्दा परकम्प गएको अधिकारीहरुले बताएका छन्।