इराकी विशेष फौज मोसुलको सिमानामा

  • 1 नोभेम्बर 2016
तस्वीर कपीराइट AFP

इराकको उत्तरी शहर मोसुलबाट इस्लामिक स्टेटका लडाकुलाई हटाउने प्रयासमा इराकी सेना पहिलोपटक मोसुल शहरको सिमानामा पुगेको छ।

उक्त क्षेत्रमाथि आक्रमण थालेको केही घण्टामा विशेष प्रतिआतंकवादी फौजले कुक्जलिस्थित सरकारी टेलिभिजनमाथि कब्जा गरेको छ।

तर सेनाले कडा चुनौतीको सामना गरिरहेको सेनासँगै यात्रा गरिरहेका एकजना बीबीसी संवाददाता बताउँछन्।

सोमबार इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुलभित्र रहेका लडाकुहरुलाई या त आत्मसमर्पण गर्ने या मर्ने बाहेक अरु कुनै उपाय नरहेको बताएका थिए।

मोसुलभित्र करिब ३ देखि ५ हजार लडाकु रहेको मानिएको छ।

महत्वपूर्ण

आइएसको अन्तिम शहरी अखडा मोसुलबाट आइएसलाई हटाउनका लागि २ हप्ताअघि शुरु गरिएको कारबाहीमा करिब ५० हजार इराकी सुरक्षा सैनिक, कुर्द लडाकु, सुन्नी अरब आदिवासी, र शिआ लडाकुहरु संलग्न छन्।

ती लडाकुले मोसुलभित्रै एउट स्थान बनाउन सकेमा इराक र अन्य संलग्न राष्ट्रका लागि त्यो महत्वपुर्ण दिन हुने हाम्रा संवाददाता बताउँछन्।

तर पछिल्ला केही दिनमा भन्दा मंगलबार उनीहरुले निकै कडा चुनौतीको सामना गरिरहेका छन्।

सेनालाई भेट्न थुप्रै सर्वसाधारण पनि अघि आएका छन् र तीमध्ये केहीले सेतो झण्डा हल्लाइरहेका छन्।

चिन्ता

मोसुल घेराबन्दीमा पर्दै जाँदा संयुक्त राष्ट्रसंघले त्यहाँका अनुमानित १५ लाख बासिन्दाको सुरक्षाका बारेमा चिन्ता व्यक्त गरेको छ।

आइएसले त्यहाँ आमहत्या गरेको र जबरजस्ती मानिसलाई विस्थापित गरेको ताजा खबर प्राप्त गरेको मानव अधिकार उच्चयुक्तको कार्यालयले सोमबार बताएको थियो।

लडाकुहरुले ४० जना भूतपुर्व सैनिकहरुलाई मारेर टिग्रिस नदीमा उनीहरुको शव फालिदिएको बुझिएको प्रवक्ता रविना शमदासनीले बताइन्।

आएइसले जबरजस्ती २५ हजार मानिसहरुलाई मोसुल लैजानलाई सोमबार बिहानै दर्जनौं लरी र मिनिबस हमाम अल-अलिल भन्नेठाउँमा लगेको पनि उनले बताइन्।

सर्वसाधारण भाग्दै

तीमध्ये थुप्रै गाडीलाई गठबन्धको सैनिक कारबाहीले रोकेको थियो।

तर केही गाडीहरु भने मोसुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको अबु सैफ क्षेत्र पुग्न सफल भएका थिए।

आक्रमण शुरु भएदेखि झण्डै १८ हजार मानिसले मोसुल छोडेर भागेका छन्।

संयुक्त राष्ट्रसंघको आंकलन अनुसार बढीमा ७ लाख सम्मले शहर छोड्न सक्छन्।