सम्पदाबारे युनेस्कोको चिन्ता

  • 2 नोभेम्बर 2016
भूकम्पअघि बौद्धनाथ चैत्य
Image caption पुरातत्व विभागका अनुसार परंपरागत निर्माण शैली अनुसारै बौद्धनाथ चैत्यको पुनर्निर्माण गरिएको छ।

भूकम्पपछि भत्किएका ऐतिहासिक तथा पुरातात्विक संरचनाको पुनर्निर्माण अनुपयुक्त ढंगबाट हुनसक्ने भन्दै युनेस्कोले चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)का एक उच्च अधिकारीले विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाण्डू उपत्यकामा भूकम्पपछि भत्किएका ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण अनुपयुक्त ढंगबाट हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

युनेस्कोका नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहार्टले विश्व सम्पदाको एक स्मारक क्षेत्र बौद्धनाथको गजुरको पुनर्निर्माणका क्रममा आफ्नो सल्लाह विपरीत आधुनिक निर्माण सामाग्रीको प्रयोग गरिएको बीबीसीलाई बताएका छन्।

उनले विश्व सम्पदा क्षेत्रका ऐतिहासिक संरचनाको पुनर्निर्माणका लागि सामान्य स्थितिमा जस्तै सस्तो बोलपत्र आह्वान गर्ने र आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने परिपाटीप्रति चिन्ता व्यक्त गरेका छन्।

युनेस्कोको विश्व सम्पदा क्षेत्रको रुपमा रहेको काठमाण्डू उपत्यकाका स्मारक क्षेत्रका सयौं मठ मन्दिर र अन्य संरचना गत वर्षको वैशाखका विनाशकारी भूकम्पपछि क्षतिग्रस्त हुन पुगे।

विपरीत

नेपाल सरकारको पुरातत्व विभागले ती संरचनाको पुनर्निर्माणको लागि हाल टेण्डर अर्थात बोलपत्र आह्वान गरिरहेको छ।

लिच्छवीकालीन बौद्धनाथ चैत्यको पुनर्निर्माण कार्य भने स्थानीय पुनर्निर्माण समितिको सक्रियतामा लगभग पूरा भइसकेको छ।

तर युनेस्कोका नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहार्टले बौद्धनाथ चैत्यको माथिल्लो भाग पुनर्निर्माण गर्दा युनेस्कोको सुझाव विपरीत आधुनिक सामाग्रीको प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरे।

म्यानहार्टले भने, “बौद्धनाथ चैत्यमाथि अहिले ठूलो, गह्रौं कंक्रिटको 'प्लाटफर्म' राखिएको छ। अर्को ठूलो भूकम्प जाँदा त्यसलाई चैत्यले नथेग्न सक्छ। हामीले पहिले दिएको सुझावलाई ध्यान दिइएन। अहिले बौद्धनाथ चैत्यको पुनुर्निमार्णको काम पूरा भइसकेको छ। आशा गरौं अर्को भूकम्पको बेला त्यहाँ कुनै क्षति नपुगोस्।”

युनेस्को प्रतिनिधि म्यानहार्टका अनुसार स्वयम्भुनाथको चैत्य वरपर पुनर्निर्माण गर्दा पनि आधुनिक सामाग्रीको प्रयोग गर्ने प्रयास गरिएको थियो तर पुरातत्व विभागसँगको सहकार्यमा त्यो समस्या समाधान गरियो।

उनका अनुसार काठमाण्डू उपत्यकाका स्मारक क्षेत्रको अवस्था अध्ययन गर्न केही महिनापछि युनेस्कोको विश्व सम्पदा समितिको एक टोली नेपाल आउँदैछ।

सो टोलीले सम्पदा क्षेत्रमा जारी पुनर्निर्माणको निरीक्षण गर्ने योजना छ।

जिम्मेवारी

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले चाहिँ बौद्धनाथको चैत्य र अन्य स्मारकहरुको पुनर्निर्माण कार्य विभागको प्रत्यक्ष निगरानीमा भएको र हुँदै जाने बीबीसीलाई बताए।

"हामीले युनेस्कोको मापदण्ड अनुसारै काम गरिरहेका छौं। हामी उहाँहरुको नेपाल आउने टोलीलाई सन्तु्ष्ट पारेर पठाउँछौं।"

केही समयअघि काठमाण्डूको मध्यभागमा अवस्थित रानीपोखरीको पुनर्निर्माण अनुपयुक्त ढंगबाट हुनथालेको भन्दै चर्को विरोध भएपछि अहिले त्यसको पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिइएको छ।

त्यसप्रति युनेस्को प्रतिनिधिले सन्तोष व्यक्त गरेका छन्।

भूकम्पपछि काठमाण्डू उपत्यकाका ऐतिहासिक स्मारक क्षेत्रमध्ये सबैभन्दा धेरै क्षति काठमाण्डूको पुरानो दरबार क्षेत्रमा भएको बताइन्छ।

त्यस्ता भत्किएका स्मारकको पुनर्निर्माण गर्दा सस्तोमा बनाउने प्रस्ताव गर्ने निर्माण कम्पनीलाई पुनर्निर्माणको जिम्मा दिने सरकारी प्रचलनप्रति पनि युनेस्को प्रतिनिधि म्यानहार्टले चिन्ता व्यक्त गरेका छन्।

उनले भने, “सस्तोमा बनाउने भन्दैमा राम्रो नबन्न सक्छ। ऐतिहासिक संरचनाले आफ्नो विशिष्ट गुण गुमाउनु हुँदैन।”

'महत्व'

तस्वीर कपीराइट AP
Image caption भूकम्पका कारण उपत्यकाका सयौं ऐतिहासिक स्मारक तथा संरचना भत्किएका थिए।

उनले विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक स्मारकको पुनर्निर्माण गर्दा स्मारको प्राचीन स्वरुप र तिनको विशिष्ट विश्वव्यापी महत्वलाई झनै ख्याल गरिनुपर्नेमा जोड दिए।

खुल्ला ऐतिहासिक संग्राहलयसँग तुलना गरिने काठमाण्डू उपत्यकाका तीन शहरका दरबार क्षेत्रहरु चांगुनारायण र पशुपतिनाथका मन्दिर तथा बौद्ध तथा स्वयम्भुनाथका चैत्य युनेस्को विश्व सम्पदा अन्तर्गतका सात स्मारक क्षेत्र हुन्।

विश्व सम्पदा क्षेत्रमा युनेस्कोको मापदण्ड विपरीत निर्माण कार्य भएको अवस्थामा सम्पदा वा स्मारण क्षेत्रहरुलाई युनेस्कोको विश्व संपदा समितिले खतराको सूचीमा राख्ने गरेको छ।