'सबै पक्षलाई समेट्ने प्रयास स्वागतयोग्य'

  • 3 नोभेम्बर 2016
मुखर्जी तस्वीर कपीराइट EPA
Image caption राष्ट्रपति मुखर्जीले भारतले नेपाललाई उच्च प्राथमिकता दिएको बताए

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नयां संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षलाई समेट्न नेपालले प्रयास गरिरहेको भन्दै त्यसको स्वागत गरेका छन्।

आफ्नो नेपाल बसाइको दोस्रो दिन बिहीबार काठमाण्डूमा एउटा छलफल कार्यक्रमको समापन समारोहमा बोल्दै मुखर्जीले नेपाल र भारतबीच विगतमा बेलाबेलामा मतभेदहरु देखिएपनि दुवै देशको नेतृत्व तहले त्यसको समाधान गरेको भन्दै खुशी समेत व्यक्त गरे।

उनले भारतको प्रख्यात प्राविधिक शिक्षण संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा नेपाली विद्यार्थीले पनि भारतीय सरह प्रवेश परीक्षा दिएर उच्चतहमा अध्ययन गर्न पाउने घोषणा पनि गरे।

स्वागत

आफ्नो मुलुकको प्रधानमन्त्री र उच्च कूटनीतिक अधिकारीहरुले राखेकै धारणाको लयमा मुखर्जीले, उनकै शब्दमा, समाजका सबै तप्कालाई समेट्ने नेपाली प्रयासको स्वागत गरे।

उनले भने, “नयां संविधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले समाजका सबै तप्कालाई साथ लिएर जान गरिरहेको प्रयासको भारत स्वागत गर्दछ। हामी यो प्रयासको सफलताको कामना गर्दछौं”।

सबै तप्का भनेर उनले बृहत पक्षलाई समेट्न खोजेको भान त हुन्छ, तर धेरैले त्यो संविधानसंग असन्तुष्ट तराई केन्द्रित दलहरुतिर लक्षित रहेको ठानेका छन्।

नेपाली राजनीतिक मामिलाबारे निकै सावधानीपूर्वक शब्दावली चयन गरिएको जस्तो देखिने उनको सम्बोधनमा आपसी व्यापार र बाढी व्यवस्थापनदेखि लिएर सुरक्षा चासोका बृहत दुई पक्षीय विषयहरु समेटिएका थिए।

उनले नेपाल दिल्लीको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भने, “दुवै देशका जनताको साझा प्रगति र शान्ति तथा स्थायित्वमा हाम्रो महत्वपूर्ण चासो छ। त्यसैले भारतले ‘छिमेक पहिला’ भन्ने नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकता दिएको छ”।

उनले विगतमा नेपाल र भारतबीच मतान्तरहरु देखिएपनि दुबै देशको नेतृत्वले त्यसको समाधान गरेको भन्दै खुशी समेत व्यक्त गरे।

अवरोध

उनको उक्त धारणा विगतमा संविधान घोषणासंगै भएको सीमा नाका अवरोधपछि बिग्रिएको सम्बन्धतर्फ लक्षित जस्तो देखिन्छ, तर उनले आफ्नो सम्बोधनमा त्यसबारे प्रष्ट रुपमा केही पनि उल्लेख गरेनन्।

उनले शिक्षाक्षेत्रमा भारतले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गर्दै थप नयां घोषणा गरे।

उनले भने, “सन् २०१७ बाट नेपाली विद्यार्थीले भारतीय विद्यार्थी सरह इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटीमा स्नातकोत्तर र त्यसपछिको अध्ययन गर्न पाउनेछन्। त्यसका लागि आइआइटीले नेपालमा पनि प्रवेश परीक्षा केन्द्र खोल्नेछ।”

आइआइटी भारतको प्रख्यात प्राविधिक शिक्षण संस्था हो।

उक्त संस्थाको ढोका नेपाली विद्यार्थीका लागि खोल्ने कदमलाई कतिपयले सकारात्मक रुपमा चित्रण गरेका त छन्. तर त्यस्तै खालको सदभाव, नेपालको आन्तरिक राजनीतिबाट परै बसेर नदर्शाएसम्म नेपाल भारत सम्बन्धमा सांचो अर्थमा रुपान्तरण नआउने धेरै ठान्छन्।