मुखर्जी जनकपुर र पोखरा जाँदै

  • 4 नोभेम्बर 2016
Image caption भारतीय राष्ट्रपतिले प्रसिद्ध जानकी मन्दिरमा पूजा गर्नेछन्

आफ्नो तीन दिने राजकीय भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तराईको मुख्य शहर जनकपुर र पर्यटकीय नगरी पोखराको भ्रमण गर्दैछन्।

उनले त्यहाँ प्रसिद्ध जानकी मन्दिरमा पूजा गर्ने र नागरिक अभिनन्दन समारोहमा भाग लिने कार्यक्रम छ।

त्यसपछि उनी जनकपुरबाट अवकाशप्राप्त भारतीय गोर्खा सैनिकहरुलाई सम्बोधन गर्न पर्यटकीय नगर पोखरा जानेछन्।

आफ्नो तीन दिने भ्रमण पूरा गरी शुक्रबार नै उनी स्वदेश फर्कने कार्यक्रम छ।

तयारी

मुखर्जी काठमाण्डूबाट बिहान पौने ११ बजे बुद्ध एयरको विमानबाट जनकपुर आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईंले जनाए।

उनले भने, "पौने ११ बजे जनकपुर विमानस्थलमा उहाँ ओर्लिनुहुन्छ, त्यसपछि जानकी मन्दिरमा विशेष पूजाको लागि जाने कार्यक्रम छ, विशेष पूजा पश्चात उहाँ नागरिकबाट अभिनन्दन हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।"

भारतीय राष्ट्रपतिको भ्रमणबाट यस भेगका बासिन्दाहरु उत्साहित देखिएका छन्।

नागरिक अभिनन्दन कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन उपमहानगरपालिकाले आह्वान गरेको छ।

तर कडा सुरक्षाको कारण सर्वसाधारण अभिनन्दन स्थलमा सहजै पुग्न सक्नेमा आशंका गरिएको छ।

तस्वीर कपीराइट Indian Embassy
Image caption राष्ट्रपति मुखर्जीले पोखरामा भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ

भारतीय राष्ट्रपति मुखर्जीको आगमन अगावैदेखि जनकपुरमा सर्वसाधारणको हिँडडुलमा कडाइ गरिएको छ।

दूरी

भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्राध्यापक सुरेन्द्र लाभ बताउँछन्।

उनले भने, "नेपाल सरकारले मधेश आन्दोलनलाई भारतसंग गाँसेर हेर्ने गरेको थियो र दुई देशबीचमा तिक्तता ल्याइदिएको थियो र अहिले जुन भ्रमण भइरहेको छ, यसले दुई देशबीच भएको दूरीलाई पुर्नेछ।"

जनकपुरबाट पोखरा जाने भारतीय राष्ट्रपति मुखर्जीले त्यहाँ करिब १० हजार भूतपूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनी काठमाण्डू फर्किएपछि शुक्रबारै दिल्ली प्रस्थान गर्नेछन्।