टर्कीमा नेताहरुको गिरफ्तारीको विरोध

  • 4 नोभेम्बर 2016
तस्वीर कपीराइट DHA

टर्कीमा कुर्द समर्थक एचडीपी पार्टीले आफ्ना नेताहरुको गिरफ्तारीको विरोधमा समर्थकहरुलाई सडकमा उत्रन आह्वान गरेपछि प्रहरी र पार्टी समर्थकहरुबीच झडप भएका छन्।

विपक्षी पार्टी एचडीपीका नेता र कम्तीमा ९ जना सांसदलाई कुर्द विद्रोही समूह पीकेके संगको सम्बन्धका बारेमा अभियोजनकर्ताको प्रश्नको उत्तर दिन नमानेपछि गिरफ्तार गरिएको थियो।

प्रतिआतंकवादी अनुसन्धानमा सहकार्य नगरेकोमा एचडीपीका दुई नेतालाई गिरफ्तार गरिएको सरकारले बताएको छ।

ती दुई नेताले गत जुलाई महिनामा त्यस्तो अनुसन्धानमा संलग्न नहुने बताएका थिए।

आरोप

सोधपुछको लागि बोलाईंदा उनीहरु उपस्थित नभएको सरकारले बताएको छ।

उनीहरुमाथि पीकेके समूहको समर्थनमा प्रचारवाजी गरेको पनि आरोप लागेको छ।

कुर्द लडाकु समूह पीकेकेले शुक्रबारको कार बम आक्रमण लगायत पछिल्लो समयमा विभिन्न आक्रमणहरु गरेको आशंका गरिएको छ।

एचडीपीका नेताहरुले पीकेकेसंग सम्बन्ध भएको आरोपलाई अस्वीकार गरेका छन्।

द्वन्द्व

अमेरिका, युरोपेली संघ र टर्कीले आतंकवादी समूह भनेको पीकेके सन् १९७० को दशकदेखि सरकारसंग द्वन्द्वरत छ र द्वन्द्वमा परेर कम्तिमा ४० हजारको मृत्यु भैसकेको छ।

कुर्दहरु टर्कीको सबैभन्दा ठूलो जातीय समूह हुन्।

पीकेकेसंगको युद्धविराम सन् २०१५ मा भंग भएपछि दशकौंदेखि जारी त्यो समस्याको अन्त्य हुने आशा पनि टुटेको छ।

गत जुलाई महिनामा टर्कीमा सत्ता विद्रोहको असफल प्रयास भएपछि टर्कीमा लगाइएको संकटकाल अहिलेसम्म कायम छ।

संकटकाल

सामान्यतया टर्कीका राजनीतिज्ञहरुमाथि अभियोग लगाउन मिल्दैन।

तर संकटकालमा राष्ट्रपति रेजेप तायिप एर्दोआन र उनको मन्त्रिपरिषदलाई संसदलाई अनुमोदन नगराई नयाँ कानुन बनाउन पाउने र अधिकार र स्वतन्त्रताहरु निलम्बित गर्न पाउने अधिकार छ।

यसै समयमा कतिपय कुर्द सञ्चार माध्यमहरु बन्द गरिएका छन् र गत महिना कुर्द बाहुल्य भएको सबैभन्दा ठूलो शहर दियारबकिरका मेयरलाई आतंकवाद सम्बन्धी अनुसन्धानका क्रममा गिरफ्तार गरिएको थियो।

तनाव

शुक्रबार भएको गिरफ्तारीले कुर्दहरुमाझ तनाव र हिंसा बढाउने सम्भावना रहेको छ।

विदेशमा रहेका एचडीपीका अरु दुईजना सांसदका नाममा पनि गिरफ्तारीको वारेंट जारी गरिएको छ।

एचडीपीका नेताले राष्ट्रपति एर्दोआनमाथि एचडीपी पार्टीलाई संसदबाट निकाल्न र आफ्नो शक्ति बढाउन खोजेको आरोप लगाएका छन्।

विदेशमा रहेका एकजना सांसदले सरकार नाजीजस्तो भएको टिप्पणी गरेका छन्।