अनिर्णित राज्यमा चुनावी अभियान केन्द्रित

  • 4 नोभेम्बर 2016
hillary trump
Image caption पछिल्ला सर्वेक्षणहरुले हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पबीच ठूलो अन्तर नरहेको देखाएका छन्

अमेरिकामा सर्वेक्षणहरुले राष्ट्रपतीय चुनावको दौड अपेक्षा गरेभन्दा बढी प्रतिस्पर्धी देखाएपछि डेमोक्रयाटिक र रिपब्लिकन दुवै पार्टीले आफ्ना प्रचार अभियान थप तीव्र पारेका छन्।

मंगलबार हुने चुनाव नजिकिदैं गर्दा डेमोक्रयाटिक र रिपब्लिकन उम्मेदवारहरुले एकअर्कामाथि थप तीखो आक्रमण पनि गर्न थालेका छन्।

लक्ष्य

दुवै उम्मेदवारले डेमोक्रयाट् वा रिपब्लिकन कुन पक्षमा भनेर प्रष्ट नभइसकेका राज्यहरु अर्थात स्विंग स्टेटलाई लक्षित गरिरहेका छन्।

डोनल्ड ट्रम्पका पूर्व रिपब्लिकन प्रतिद्वन्द्वी टेड क्रुजले आइओवामा आफ्ना समर्थकहरुलाई रिपब्लिकन उम्मेदवारको पक्षमा मतदानका लागि आह्वान गरे।

पेन्सिलभेनियामा ट्रम्पकी पत्नी मेलानियाले भाषण गर्दै आफ्ना पतिले अमेरिकालाई थप निष्पक्ष बनाउने बताइन्।

चुनावी अभियानबारे यसअघि उनले विरलै भाषण गर्ने गरेकी थिइन्।

छोरी इभान्काले पनि ट्रम्पको पक्षमा बोल्दैछिन्।

खतरा

नर्थ क्यारोलाइनामा डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले ट्रम्प राष्ट्रपतिमा चुनिए राष्ट्रिय सुरक्षाका लागि खतरा हुने चेतावनी दिइन्।

उनले भनिन्, “यदि डोनल्ड ट्रम्पले चुनाव जिते भने हामीले त्यस्तो परमाधिपति पाउनेछौं जो एकदमै सतही छन् र जसका विचारहरु अविश्वसनीय रुपमा खतरनाक छन्”।

“उनी अरु थप देशहरुले आणविक हतियार विकास गरोस् भन्ने चाहन्छन् र ट्वीटरमा युद्ध होइन कि सांच्चिकै युद्ध सुरु गर्न चाहन्छन्”।

राष्ट्रपति ओबामाले चाहिँ फ्लोरिडामा युवा मतदाताहरुलाई डेमोक्रयाटिक उम्मेदवारको पक्षमा मत खसाल्न आह्वान गरे।

अमेरिकामा अर्को साताको चुनावमा हुने मतदानलाई लिएर देखिएका विवादहरु अदालतहरुमा पुगेका छन्।

ट्रम्पले चुनावमा धाँधली हुन सक्ने भन्दै उनका समर्थकहरुलाई त्यसको संकेतलाई नजिकबाट नियाल्न भनेका छन् जसलाई डेमोक्रयाट्हरुले ज्यादतीका रुपमा व्याख्या गरेका छन्।