‘लोडशेडिङ हटाउन भारतबाट थप बिजुली’

  • 7 नोभेम्बर 2016
ढल्केबार प्रसारण लाइन तस्वीर कपीराइट .
Image caption भारतबाट बिजुली आयात गर्न आवश्यक प्रसारण लाइन र ‘सब-स्टेशन’को अभाव कायमै रहेको छ।

यसपालिको हिउँदमा काठमाण्डू उपत्यका र देशका प्रमुख स्थानलाई लोडशेडिङ मुक्त पार्न भारतबाट थप बिजुली आयात गरिने नेपाल विद्युत प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन्।

भारतबाट करिब ५०० मेगावाट बिजुली आयात गरेर माग र आपूर्तिबीचको असन्तुलन घटाउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनका अनुसार बिजुलीको उच्चतम माग हुने बेलुकाको समयमा उद्योगधन्धालाई आपूर्ति बन्द गरेर हाल लोडशेडिङ कम गर्ने प्रयास भइरहेको छ।

देशभित्रका जलविद्युत केन्द्रबाट पर्याप्त बिजुली उत्पादन भएको बेला प्राधिकरणले मनग्गे बिजुली आपूर्ति गरिदिँदा लोडशेडिङको मार खेप्न वाध्य लाखौं उपभोक्ताले दशैंयता ठूलो राहत महसुस गरिरहेका छन्।

कटौती

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार त्यो क्रम आउने हिउँदभरी जारी राख्न उच्चतम माग हुने बेलुकाको समयमा उद्योग-धन्धाहरुलाई आपूर्ति कटौती गर्दै देशैभर लोडशेडिङ हटाउने तयारी अघि बढाइएको छ।

“अहिलेको हिउँदमा कुनै पनि उद्योग बेलुकाको समयमा चल्दैनन्। अहिले हामीले बेलुकाको अधिक माग हुने बेला उद्योगहरुलाई बिजुली दिइरहेका छैनौं।

उनले आउने पुषपछिको सुख्खा याममा देशको राजधानी र प्रमुख स्थानमा लोडशेडिङ नहुने गरी बिजुलीको माग तथा आपूर्ति व्यवस्थापना गर्ने गरी गृहकार्य भइरहेको पनि बताए।

गत तिहारको साँझ देशभर करिब १,५०० मेगावाटको उच्चतम विद्युत माग भएकोमा भारतबाट आयातित बिजुली समेत जोड्दा करिब १,००० मेगावाट बिजुली आपूर्ति गर्न सकिएको प्राधिकरणले जनाएको छ।

उत्पाद

तर जाडो बढेसँगै देशका खोला नालामा पानी घट्न थाल्छन् र देशका जलविद्युत गृहमा बिजुली उत्पादन निकै कम हुन जान्छ।

त्यस्तो बेला राजधानी र वरपरका क्षेत्रमा साँझको अधिक विद्युत माग पूरा गर्न जलाशययुक्त कुलेखानी जलविद्युत केन्द्र सञ्चालन गर्ने गरिएको छ।

देशका अन्य भागको माग पूरा गर्न भारतबाट बिजुली आयात बढाएर ५०० मेगावाट पु-याउने तयारी भइरहेको घिसिङले बताए।

“अहिलेको हिउँदमा तराईका केही स्थानमा लोडशेडिङ हुन सक्ला, तर त्यो पनि नहोला। हामीलाई भारतबाट ५०० मेगावाट जति बिजुली भए पुग्छ।”

तर भारतबाट बिजुली आयात गर्न आवश्यक प्रसारण लाइन र ‘सब-स्टेशन’ जस्ता पूर्वाधार पर्याप्त भइनसकेको अवस्थामा विद्युत प्राधिकरणको लोडशेडिङ हटाउने योजना निकै चुनौतीपूर्ण हुन सक्ने जानकारहरु बताउँछन्।