अमेरिकामा अन्तिम चुनावी अभियान जारी

  • 7 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption सोमबार दुबै उम्मेदवारहरु अन्तिम चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्

सोमबार बिहानैदेखि अमेरिकाको ४५ औं राष्ट्रपति पदका प्रत्यासीहरु डेमोक्र्याट उम्मेदवार हिलरी क्लिन्टन तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अन्तिम चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्।

तिक्ततापूर्ण रहेको प्रचारप्रसार अभियानको अन्तिम दिन मतदाताका हिसाबले महत्वपूर्ण ठानिएका राज्यहरुलाई लक्षित गर्दै उनीहरु विभिन्न -यालीहरुमा सहभागी हुंदैछन्।

हिलरी क्लिन्टनले मिशीगन राज्यबाट आफ्नो अन्तिम दिनको प्रचार प्रसार अभियान आरम्भ गर्दैछिन् भने अर्का उम्मेदवार डोनल्ड ट्रम्पले फ्लोरिडालाई आफ्नो लक्ष्य बनाएका छन्।

आप्रवासीहरुप्रति उदार व्यवहार र धनीहरुबाट थप कर असुलीको वकालत गर्ने क्लिन्टन र गैरकानुनी तथा आप्रवासीहरुमाथि कडा नियमन, अनि धनी र व्यापारीहरुलाई कर छुट प्रस्ताव गर्ने ट्रम्प फरक फरक कारणले नेपाली अमेरिकी मतदाताको रोजाइमा परेका छन्।

लचक

तस्वीर कपीराइट EPA

तुलनात्मक रुपमा डेमोक्र्याट दल आप्रवासी र अश्वेतहरुप्रति लचक देखिन्छ।

त्यसैले बहुसंख्यक आप्रवासी मतदाता जस्तै नेपाली अमेरिकी मतदाताहरु पनि चुनावी भोटका दृष्टिले क्लिन्टन निकट देखिन्छन्।

मेरिल्याण्ड गभर्नरको साउथ एसियन अमेरिकन अफेयर्स कमिसन सदस्य तथा डेमोक्र्याट मतदाता डा. श्याम कार्कीले भने, “क्लिन्टन आप्रवासीहरुप्रति बढी अनुकूल छिन्।“

त्यस विपरित रिपब्लिकन दलको कर संबन्धी मुद्दाले उम्मेदवार रोजाइमा प्रभाव पारेको छ।

निजी क्षेत्रप्रति उदार रिपब्लिकन नीतिले नेपाली मतदातालाई पनि आकर्षित गरेको देखिन्छ।

बाल्टिमोरका एकजना व्यवसायी केशव आचार्यको झुकाव त्यही कारणले रिपब्लिकन दलप्रति छ।

भूमिका

व्यापारी र धनीहरुलाई थोरै कर तथा नागरिकहरुलाई दिइने सेवा सुविधामा राज्यको सानो भूमिका खोज्ने रिपब्लिकन दलको नीति आफूलाई मन परेको आचार्यले बताए।

तर यसपटकका रिपब्लिकन उम्मेदवार ट्रम्प चाहिं आचार्यलाई मन परेका छैन।

उनले भने, “ट्रम्पको बोली र महिलाहरुप्रतिको व्यवहार चित्त बुझ्दो छैन ।“

कतिपय मतदाताका लागि यसपटकको चुनाव यसकारण पनि महत्वको छ किनभने अब बन्ने राष्ट्रपतिले आफ्नो चार वर्षे कार्यकालभरिमा सर्वोच्च अदालतका दुई वा तीन जना न्यायाधीश नियुक्त गर्न पाउनेछन्।

एकपटक नियुक्त भएपछि बाँचुन्जेल सो पदमा रहिरहने हुनाले उदार या अनुदार कस्तो विचार बोक्ने न्यायाधीस नियुक्त हुन्छन् भन्ने कुराले दशकौं सम्म अदालतको फैसला प्रभावित पार्नेछ।

डा. कार्कीले भने, “नीतिगत फेरबदलको मात्रै कुरा गर्ने हो भने मानौं अहिले ट्रम्पले नै जितीहाले भने पनि चार वर्षपछि अर्को चुनावमा हामी डेमोक्र्याटलाई जिताऔंला, तर त्यसबीचमा नियुक्त हुने न्यायाधीशहरुलाई त हटाउन सकिन्न। अनुदार विचारका न्यायाधीश नियुक्तभए भने अमेरिकी विविधताका कतिपय मुद्दाहरु बीसौं वर्ष पछाडि धकेलिनेछन्।“

छनौट

फरक नीतिका आधारमा मतदाताको छनौटमा उम्मेदवार पर्ने या नपर्ने कुरा निर्क्यौल हुन्छ ।

तर नेपाली अमेरिकीहरुको रोजाइलाई नेपालमै अभ्यस्त राजनीतिक व्यवहारले बढी प्रभाव पारेको राजनीतिक विश्लेषक प्राध्यापक चित्रकृष्ण तिवारीको ठम्याइ छ।

तिवारीले भने, “सामाजिक सुरक्षा लगायतका मुद्दामा सरकारको भूमिका खोज्ने नेपाली राजनीतिक व्यवहारको असर अमेरिकी उम्मेदवार रोजाइमा पनि परेको छ। त्यसैले धेरै नेपाली क्लिन्टनको समर्थनमा छन्। थोरै रिपब्लिकन समर्थक नेपाली अमेरिकी छन्, जो सानोतिनो व्यवसाय गर्छन् र कर छुटको अपेक्षा राख्छन्।“

क्लिन्टन या ट्रम्प जसले चुनावी दौड जिते पनि उनीहरुका फरक नीतिगत प्राथमिकताका कारण चुनव पछि हुनसक्ने नीतिगत परिवर्तनले अमेरिकामा रहेका नेपाली समुदायलाई थोरै भए पनि असर चाहिं पार्नेछ।

हाल अमेरिकामा रहेका श्रेष्ठ बीबीसी साझा सवालका पूर्व प्रस्तोता हुन्।