भारतमा चिन्तित उपभोक्ता नोट साट्दै

  • 10 नोभेम्बर 2016
Image caption भारतका ब्यांकहरुमा पुराना नोट साट्नेहरुको भीड लागेको छ

भारत सरकारले चल्तीका भारु पाँच सय र हजारका नोटहरु अकस्मात बन्द गरेपछि भारतका ब्यांकहरु बाहिर पुरानासँग नयाँ साट्ने उपभोक्ताका भीडका कारण अस्तव्यस्त दृष्यहरु देखिएका छन्।

आँफुसँग रहेका नचल्ने नोट जसरी पनि साट्न ब्यांक पुगेका उपभोक्ताहरुलाई कैयौं ब्यांकले आफुसँग नोट सकिएको जानकारी दिएका थिए।

भारतका कैयौं भागमा आक्रोशित लाइन व्यवस्थापन गर्न प्रहरी बोलाउनुपरेको थियो।

सरकारले भष्टाचार नियन्त्रण गर्न र नक्कली नोट नियन्त्रण गर्न पाँच सय र हजार रुपैयाँका नोटहरु फिर्ता लिने निर्णय गरेको बताएको छ। तर यसले जीवन निर्वाहका लागि नगदमा व्यवहार गर्ने शहरमा रहेका गरिब र साना व्यापारीहरुलाई मुश्किल पारेको छ।

अस्तव्यस्त

नयाँ नोट व्यवस्था गर्न बुधबार ब्यांकहरु बन्द भएका थिए।

एटीएमबाट नगद निकाल्न पनि सीमा राखिएको छ।

मुम्बई र दिल्लीका ब्यांक बाहिर पैसा साट्न चाहने उपभोक्ताहरुको अस्तव्यस्त दृष्यहरु देखिएका थिए।

दिल्लीस्थित बीबीसीकी संवाददाता गीता पाण्डे भन्छिन्- कैयौं ब्यांकहरुले काम गर्ने समयावधी बढाएका थिए।

उपभोक्ताहरुबीच भएको झगडा नियन्त्रण गर्न प्रहरी बोलाइएकाले दिनभरको काम कारवाही भने राम्ररी सम्पन्न भएको थियो।

दिल्ली विश्वविद्यालयका एक विद्यार्थी छत्तिसगढका विजय कर्ण शर्मा विहानदेखि पैसा साट्न लाइन बसेका थिए।

उनले भने, “दिपावलीका लागि घर जाँदा मेरा आमाबाबाले पैसा उपहार दिनुभएको थियो। अहिले पढ्नुको साटो म यहाँ लाइन बस्नु परेको छ। मलाई घरभाडा तिर्न किताब किन्न र खानाका लागि पैसा अत्यावश्यक भइसकेको छ विद्यार्थीका लागि विशेष व्यवस्था भए हुन्थ्यो नि।”

नयाँ दुइ हजारका र पाँच सय रुपैयाका नयाँ नोटहरु पुराना नोटको सट्टामा दिइएको थियो।

एकजना बरिष्ठ सरकारी अधिकारीले केही पछि नयाँ हजारको नोट पनि ल्याइने बताए।

कालो धन भनिने कतै गणनामा नआउने रकम व्यवस्थापन गर्न यस्तो निर्णय गरेको बताइएको छ।

चेतावनी

अर्थ सचिव शक्तिकान्त दासले पुरानासँग नयाँ नोट साट्नेकामको नजिकबाट अनुगमन गरिने चेतावनी दिए।

त्यस्तो कालो धन कति छ भन्ने स्पष्ट छैन, तर संवाददाताहरु भन्छन् भारतमा कालो धन ठूलो समस्याका रुपमा छ।

चलनचल्तीका नोट हठात बन्द गरेर लुकाएर राखिएको पैसा प्रयोगमा आउन नदिने र करको दायरामा ल्याउने लक्ष्य रहेको बताइएको छ।

ब्यांकले केही हजार रुपैयाँ साट्ने तर साढे दुइ लाख भन्दा बढि रुपैँया जम्मा गर्नेहरुको पैसाको श्रोत खोज्ने बताइएको छ।

सरकारी निर्देशन अनुसार नोभेम्बर २४ तारिखसम्म हरेक दिन ४ हजार रुपैया साट्न मिल्छ। सटही व्यवस्था डिसेम्बरको अन्त्यसम्म मिल्ने बताइएको छ।