राष्ट्रपति पाक विरुद्ध सोलमा बृहत् प्रदर्शन

  • 12 नोभेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption दक्षिण कोरियामा राष्ट्रपतिको राजीनामा माग गर्दै सयौं नागरिकले सडक प्रदर्शन गरेका छन्

दक्षिण कोरियाको राजधानी सोलमा सयौं हजार दक्षिण कोरियालीहरुले राष्ट्रपति पाक गुन हेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

राष्ट्रपति निवासमा प्रदर्शनकारीहरु नपुगुन् भनेर ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएका छन्।

राष्ट्रपतिले उनकी साथी चोय सुन सीललाई अधिकार विना सरकारी दस्तावेजमा पहुँच दिएको आरोप लगाइएको छ।

जनसमर्थन घट्दै गएकी राष्ट्रपति हेले सो काण्डका कारण आफ्नो हृदय छियाछिया भएको बताएकी छन्।

प्रदर्शन

आयोजकहरुले शनिबार दश लाख प्रदर्शनकारी सहभागी रहेको बताए, तर प्रहरीले त्यो संख्या २ लाख ६० हजार रहेको बताएको छ।

राष्ट्रपति विरुद्ध निरन्तर प्रदर्शनहरु भैरहेका छन्।

चोयमाथि दक्षिण कोरियाली कम्पनीहरुबाट ठूलो मात्रामा रकम असुल्ने प्रयत्न गरेको आरोप लागेको छ।

उनलाई शक्तिको दुरुपयोग गरेको र फर्जी काम गरेको आरोपमा गत हप्ता गिरफ्तार गरिएको थियो।

प्रदर्शनकारीहरु गत हप्ता भन्दा बढी आक्रामक देखिएका छन्, अहिलेसम्म शान्तिपूर्ण देखिन्छन् तर नारा चर्किँदै गइरहेको छ।

सोलस्थित बीबीसीका स्टेफन इभान्सले भने, निलो छाना भएकाले ब्लु हाउस भनिने राष्ट्रपति निवास नजिकै प्रदर्शनकारीहरु छन्।

यदि उनी निवासमै छिन् भने उनले विरोधका आवाज सुन्नेछिन्।

अनुसन्धान

अहिले राष्ट्रपति पाक विरुद्ध कुनै अपराधिक आरोप लगाइएको छैन, तर उनी नजिकका व्यक्तिहरुमाथि भ्रष्टाचारको अनुसन्धान भइरहेको छ।

उनकी चालीस वर्षदेखिकी नजिककी मित्रलाई राष्ट्रपतिसँगको निकटताको फाइदा उठाउँदै दुइवटा संस्था खडा गरेर स्यामसङ लगायत ठूला कम्पनीहरुबाट दशौं लाख डलर लिएको आरोप लागेको छ।

राष्ट्रपति पाकका लागि शायद उनकै कार्यालयका दुइ अधिकारीमाथि भइरहेको अनुसन्धान चिन्ताजनक हुनुपर्छ।

पाकले व्यक्तिगत सम्बन्धमा अति विश्वास गरेर आफ्नो वरपर के भइरहेको छ भन्ने नहेरेको भन्दै क्षमा मागेकी छन्।

उनले दुखी विचारहरुले आफ्नो निद्रा गडबड हुने गरेको, आफुले जे गरे पनि जनताको हृदय जित्न सक्दिन भन्ने लाग्ने गरेको र त्यसबाट आफु लज्जित हुने गरेको बताइन्।

गलत गरेको पाइएमा कसैलाई नछोडिने भन्दै अभियोजनकर्ताहरुले आफुमाथि अनुसन्धान थाले त्यसका लागि तयार रहेको पनि राष्ट्रपतिले बताइन्।

अभियोजनकर्ताहरुले अनुसन्धानको दायरा फराकिलो बनाइने बताएका छन्।