हारका लागि एफबीआइ निर्देशक दोषी: क्लिन्टन

  • 13 नोभेम्बर 2016
Image caption धेरै सञ्चारमाध्यमहरुले क्लिन्टनले चुनाव जित्ने प्रक्षेपण गरेका थिए

अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित हिलरी क्लिन्टनले हालैको आश्चर्यजनक हार पछाडि त्यहाँको संघीय जाँच ब्युरो एफबीआइका निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको आरोप लगाएकी छन्।

कोमीले चुनाव आउन जम्मा एकसाता मात्रै बाँकी रहँदा आफू विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुबारे पुन: अनुसन्धान थालिएको भनेर घोषणा गरेपछि त्यसले चुनावी अभियानको गतिलाई बिथोलिदिएको क्लिन्टनले बताइन्।

चुनावको तीन दिनअघि अर्को घोषणा गर्दै कोमीले क्लिन्टनका इमेलहरुबारे एफबीआइले समीक्षा गर्दा त्यसमा उनको कुनै गल्ती नदेखिएको घोषणा गरेका थिए।

विरोध प्रदर्शन

बीबीसीका वीरा डेभिसले भने, “क्लिन्टन आफ्ना ठूला दाताहरुसँग सामूहिक टेलिफोन कुराकानीमा थिइन्। र, उनले आफ्नो हारका लागि जेम्स कोमीलाई दोष लगाएको बताइएको छ।”

यसैबीच अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पविरुद्ध गरिएका प्रदर्शनको चौथो दिन पनि न्यूयोर्क, शिकागो र लस एन्जलसमा हजारौं प्रदर्शनकारीहरु विरोधमा भाग लिइरहेका छन्।

न्यूयोर्कमा प्रहरीहरुले युनियन सक्वायरमा पुग्न चाहने प्रदर्शनकारीहरुलाई पछाडि धकेलेका थिए।

अन्य प्रदर्शनकारीहरु भने ट्रम्पको घर, ट्रम्प टावर र उनको कार्यालयतर्फ र्याली गर्दै अगाडि बढेका थिए।

रोक

प्रदर्शनका क्रममा ट्रम्पका आलोचक रहेका वृत्तचित्र निर्माता माइकल मोअर क्यामेराको टोलीसहित ट्रम्प टावरको लबीभित्र छिरेर ट्रम्पलाई भेट्न चाहेको बताएका थिए।

तर उनलाई प्रवेशमा रोक लगाइयो।

त्यसको केही क्षणमै युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्छ भन्ने अभियानका प्रमुख व्यक्ति नाइजल फराज त्यहाँ देखा परे।

उनलाई भने भित्र पस्न दिइयो र उनी नै राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पसँग भेट्ने पहिलो ब्रिटिश नेता भए।