सुरक्षा गार्डमाथिको बन्देज हटाउनेबारे अन्योल

  • 13 नोभेम्बर 2016
guard तस्वीर कपीराइट AP
Image caption मलेसियासहितका मुलुकमा नेपाली सुरक्षा गार्डको माग उच्च रहेको बताइन्छ

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेश पठाइने नेपाली सुरक्षा गार्डको कोटामा भएको भनिएको अनियमिततामाथि गरिरहेको छानविन लम्बिंदा अन्योल उत्पन्न भएको बताइएको छ।

रोजगार व्यवसायीहरुले ढिलाइका कारण निकै माग हुँदै आएको सुरक्षा गार्डको कोटा लगभग गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

संसदको समितिले भने उजुरी नआएकाहरुको हकमा रोजगारीमा जान बन्देज नलगाउने गरी दुई महिनायताको छानविनलाई छिटो निष्कर्षमा पुर्याउने जनाएको छ।

रोक

मकाउ, युएइ र मलेसिया जस्ता राष्ट्रहरुमा निकै माग हुने गरेको नेपाली सुरक्षा गार्डको जागिरमा ठगीको उजुरी बढेको भन्दै संसदको श्रम समितिले गत दुई महिनादेखि उक्त कोटामा कामदारहरुलाई विदेश जान रोक लगाएको थियो।

यसका कारण नेपाली कामदारहरुको लागि आकर्षक मानिने सुरक्षा गार्डको कोटा अन्य मुलुकतिर सर्न थालेको भन्दै रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, "मलेसियाले नेपाली सुरक्षा गार्ड मात्र लिने गरेको थियो। उनीहरुले अरु देशका नागरिकलाई सुरक्षा गार्डमा भिसा नै दिंदैन थिए। तर अहिले विकल्पका रुपमा बांग्लादेश र श्रीलंकाका कामदार पनि लिन थालेको बुझिएको छ। त्यस्तै युएइलगायतका खाडी राष्ट्रहरुमा नेपाली सुरक्षा गार्डहरुले मौका पाँउदै आएकोमा अहिले अफ्रिकी मुलुकका कामदार लिन थालेका छन्। हाम्रो बाटो बन्द हुंदै गएको छ।"

श्रम समितिले अन्य काममा भन्दा सुरक्षा गार्डमा ठगी बढेको भन्दै त्यसमा छानविनका लागि उपसमिति गठन गरेको छ।

लामो

एक महिनाको लागि गठन भएको उपसमितिले समय अपुग भएको भन्दै अर्को एक महिना थप गरेपछि छानविन लम्बिन पुगेको देखिएको छ।

तर अब छानविन अन्तिम चरणमा पुगेको भन्दै उपसमितिका संयोजक सांसद मीन विश्वकर्माले बताए।

उनले भने, "उजुरी परेको म्यानपावर कम्पनीको हकमा मात्र रोक्ने तर जसको उजुरी नै परेको छैन त्यस्ता कम्पनीहरुबाट कामदार पठाउन नरोकौं भन्ने सिफारिस उपसमितिले पठायो। तर मूल समितिले माइन्युटमा नै लेखिसकेको हुनाले तपाईंहरुको प्रतिवेदन आएपछि मात्र निर्णय गर्छु भनेकोले हामीले छिटो प्रतिवेदन बुझाउने तयारी गरिरहेका छौं। मंसिरको पहिलो हप्तासम्म बुझाइसक्ने योजना छ।"

वैदेशिक रोजगार महासंघले ठगीका घटनाहरुमा सरकारले गरिरहेको छानविनको विषयमा आफुहरुले सघाउन तयार रहेको भन्दै छानविनकै लागि नै सम्पूर्ण रोजगारी नै बन्द गर्न नहुने बताउँदै आएको जनाएको छ।

श्रम समितिका सभापति प्रभु साहले छानविनमा ढिलाइ भएको स्वीकार्दै थप ढिलाइ हुन नदिने बताए।

उनले भने, "हामीले रोकेर प्रभावकारी छानविन होस् भन्ने चाहेका थियौं। तर लामो भएपछि व्यवसायीहरुलाई नकारात्मक असर पर्ने देखिएकोले अब ढिलो हुने देखियो भने हामीले लगाएको रोक खोल्छौं र छानविन हुंदै गर्छ। "

विश्वासिलो छवि भएका कारण अधिकांश देशहरुमा सुरक्षा गार्डमा नेपालीहरुलाई लिने गरेको बताइन्छ।