सन् २०१६ ‘सबैभन्दा उच्च तापमान भएको वर्ष’

  • 14 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

प्रारम्भिक अनुमान अनुसार सन् २०१६ अभिलेख गरिए यताको सबैभन्दा उच्च तापमान भएको वर्ष हुने देखिएको छ।

शुरुका ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा २०१६ को तापमान बढी हुनेमा वैज्ञानिकहरु ९० प्रतिशत विश्वस्त छन्।

यस वर्ष ज्यानुअरी देखि सेप्टेम्बर महिनासम्मको तापक्रम पुर्व औद्योगीकरणको समयभन्दा १ दशमलव २ डिग्री सेन्टिग्रेड बढी रहेको विश्व मौसम संस्था (डब्लुएमओ) ले बताएको छ।

मोरक्कोमा जारी सम्मेलनमा प्यारिसमा भएको सहमति अघि बढाउने प्रयासमा रहेका वार्ताकारहरुलाई जानकारी दिनका लागि सन् २०१६ को तथ्यांक चाँडै सार्वजनिक गरिएको हो।

बढ्दो

सन् १९६१ देखि १९९० सम्मको तापक्रम भन्दा यस वर्षको तापक्रम शून्य दशमलव ८८ डिग्री बढी रहेको उक्त प्रतिवेदनले बताएको छ।

त्यो सन् २०१५ को तापक्रम भन्दा बढी हो भने सन् २०१५ को तापक्रम सन् २०१४ को भन्दा बढी थियो।

डब्लुएमओ का महासचिव पेटरी टलासले आर्कटिक क्षेत्रका कतिपय ठाउँमा तापक्रम औसत भन्दा ६ देखि ७ दशमलव डिग्री बढी र रुस, अलास्का र उत्तरपश्चिमी क्यानडामा औसतभन्दा ३ डिग्री बढी रहेको बताए।

सूचकहरु

तस्वीर कपीराइट PA

जलवायु परिवर्तनका अन्य सूचकहरु पनि निकै बढेको बताइएको छ।

सन् २०१६ मा वातावरणमा हरितगृह ग्यासको मात्रा बढ्दो छ, आर्कटिक क्षेत्रको बरफ उल्लेख्य मात्रामा पग्लने क्रम जारी छ भने ग्रीनल्याण्डको बरफ साविकभन्दा चाँडै पग्लन थालेको छ।

यस वर्षको तापक्रम उच्च हुनुमा एल निनो नामको मौसमी घटनाको पनि केही भूमिका रहेको वैज्ञानिकहरु बताउँछन्।

तर त्यो मात्रा शून्य दशमलव २ डिग्री मात्रै भएको हुँदा विश्वव्यापी तापक्रम वृद्धिको ठूलो कारक भने हरितगृह ग्यास नै मानिएको छ।

चिन्ता

डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि उनले जलवायु परिवर्तनका बारेमा सन्देहात्मक दृष्टिकोण ह्वाइट हाउसमा ल्याउने धेरैको चिन्ता छ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले जलवायु परिवर्तनलाई उपहास भनेका थिए।

तर जलवायु परिवर्तनको प्रमाण भने समयसंगै झन् बढिरहेकोमा वैज्ञानिकहरुले जोड दिएका छन्।