५० लाख दिने निर्णयप्रति थापा असन्तुष्ट

  • 14 नोभेम्बर 2016
तस्वीर कपीराइट .
Image caption स्तन क्यान्सर भएकी कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर गएको बताइएको छ

मन्त्रिपरिषदले उपचार खर्चका निम्ति पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैँया दिने निर्णय गरेकोमा स्वास्थ्यमन्त्री गगन थापाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च उपलब्ध गराउने सम्बन्धी निर्देशिका मन्त्रिपरिषदमा पेश गरेको अवस्थामा त्यसलाई छलफल नै नगरी उक्त निर्णय गरिएको उनले बताए।

पछिल्लो सरकारी निर्णयले राज्यकोषको दुरुपयोगलाई संस्थागत गरेको उनको भनाई छ।

तर नेपाली काँग्रेसकै एकजना नेताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेको कोइराला परिवारकी सदस्य तथा पूर्व उपप्रधानमन्त्रीलाई उपचार खर्च उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय सही भएको बताएका छन्।

असन्तुष्ट

आइतबार मन्त्रिपरिषदमा स्वीकृतिको लागि पेश गरिएको उपचार खर्च उपलब्ध गराउने मापदण्ड संशोधनको कार्यविधिलाई बेवास्ता गरी आफु खुशी निर्णय गरिएको स्वास्थ्यमन्त्री थापाले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले संशोधन गरेको नागरिक राहत, क्षतिपूर्ती तथा आर्थिक सहायता सम्बन्धी संशोधित कार्यविधि स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाएको थियो।

तर उक्त कार्यविधिमा छलफल नै नगरी पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री कोइरालालाई उपचारको लागि बढीमा ५० लाख रुपैँयासम्म उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेकोमा स्वास्थ्यमन्त्री गगन थापाले आक्रोश पोखे।

उनले भने, "मन्त्रिपरिषदको एजेण्डामा त्यो कार्यविधि थियो। तर त्यसलाई छलफल नै नगरी यसरी आफूलाई मनलागेकोलाई पैसा बाँड्दै जानु उपयुक्त होइन, यसले राज्यको स्रोतको दुरुपयोगलाई थप संस्थागत गर्छ।"

स्वास्थ्य मन्त्रालयले संशोधन गरेको उक्त कार्यविधिमा पूर्व विशिष्ट पदाधिकारीहरुलाई उपचारको लागि एकपटक मात्र अधिकतम १५ लाख रुपैँया दिन सक्ने प्रावधान छ।

साथै नेपालमा उपचार हुनसक्ने रोगको विदेशमा उपचार गराए कुनै रकम उपलब्ध गराइने छैन।

नेपालमा सम्भव नहुने रोगको उपचारको लागि सिफारिसका आधारमा मात्र विदेशमा जान सकिने भन्ने व्यवस्था गरिएको छ।

बचाउ

तर काँग्रेस नेतृ कोइराला निकट ठानिएका सांसद बलबहादुर केसीले देशमा सुविधा सम्पन्न अस्पतालहरु अझै स्थापना नभइसकेको अवस्थमा देशमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई गम्भीर रोग लाग्दा उपचार खर्च उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको बताए।

उनले भने, “नेपालको राजनीतिमा लामो संघर्ष गरेको कोइराला परिवारकी सदस्य, आफैँ पनि उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई कडा रोग लागेको हुनाले राज्यले त्यो दायित्व पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ।”

स्वास्थ्यमन्त्री थापाले यसरी मनपरी गर्ने हो भने सरकारले स्वास्थ्य मन्त्रालयमा आएको सर्वसाधारण सबैको उपचारको व्यवस्था गर्न सक्नुपर्ने पनि बताए।

उनको भनाई थियो, "विभिन्न रोगको उपचार गर्न नागरिक भएर सुविधा पाँउ भनेर स्वास्थ्य मन्त्रालयमा मात्रै करिव १५ सयको यस्तो निवेदन छ। सरकारले ती सबैलाई पनि यसैगरी उपचारमा सहयोग गर्ने क्षमता राख्नुपर्यो किनभने सरकारका लागि सबैजना बराबर हो।"

स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई स्तन क्यान्सर भएको खबर सार्वजनिक भएको छ।

स्वास्थ्य मन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीको स्वास्थ्य उपचार खर्च माग गरिएको प्रस्तावलाई रोकिदिएको बताइन्छ।