बीबीसीले थप ११ भाषा सेवा शुरु गर्ने

  • 16 नोभेम्बर 2016
तस्वीर कपीराइट PA
Image caption गत वर्ष ब्रिटिश सरकारले बीबीसी विश्व सेवाकालागि सन् २०१९/२० सम्मकालागि थप २८ करोड ९० लाख पाउण्ड उपलब्ध गराउने घोषणा गरेको थियो

बीबीसी विश्व सेवाले सन् १९४० यताकै आफ्नो सबैभन्दा ठूलो विस्तार घोषणा गर्ने क्रममा ११ वटा नयाँ भाषा सेवाहरु शुरु गर्ने बताएको छ।

पछिल्लो विस्तार अघिल्लो वर्ष ब्रिटेन सरकारले विश्व सेवाका निम्ति आर्थिक श्रोत वृद्धि गर्ने भनी गरेको निर्णयको परिणाम हो।

नयाँ भाषा सेवाहरुमा आफान ओरोमो, आम्हारिक, गुजराती, इग्बो, कोरियाली, मराठी, पिजिन, पञ्जाबी, तेलुगु, टिग्रिन्या र योरुबा रहेका छन्।

नयाँ भाषा सेवाहरुको पहिलो प्रसारण सन् २०१७ मा शुरु हुने अपेक्षा गरिएको छ।

ऐतिहासिक

बीबीसीका महानिर्देशक टोनी हल भन्छन, “हामीले सन् १९४० को दशक यता बीबीसी विश्व सेवाको सबैभन्दा ठूलो विस्तारको घोषणा गरिरहँदा यो बीबीसीका लागि एउटा ऐतिहासिक दिन हो।”

“बीबीसी विश्व सेवा, बीबीसी र ब्रिटेनका निम्ति - मुकुटमा जडित रत्न हो।”

हलले भनेका छन्, “हामी स्थापनाको शतवार्षिकी मनाउन अघि बढीरहँदा मेरो परिकल्पना भनेको एउटा आत्मविश्वासयुक्त र बहिर्मुखी बीबीसी हो, जसले विश्वभरिका आधी अर्ब जनतालाई हाम्रो स्वतन्त्र तथा निष्पक्ष पत्रकारिताको सर्वोत्तम प्रस्तुती एवं विश्वस्तरीय मनोरञ्जन प्रदान गर्नसकोस्।”

Image caption महानिर्देशक हलले सन् २०२२ सम्म बीबीसीको श्रोता संख्या पचास करोड पु्र्याउने लक्ष्य राखेका छन्।

सन् २०१४ मा शुरु गरिएको फेसबुकमा मात्र उपलब्ध ‘पप अप’ सेवाको सफलता पछि बुधवार देखि बीबीसीले थाइ भाषामा उसको पूर्णकालिक डिजिटल सेवा पनि बुधबारबाट शुरु गर्दैछ।

बीबीसीको विस्तार योजनामा यी विषय पनि संलग्न छन्:

  • रुसी भाषामा समाचार बुलेटिन विस्तार गर्ने, त्यस वरपरका मुलुककालागि क्षेत्रिय सामाग्रीहरु तयार गर्ने
  • अफ्रिकाको सब-सहारा क्षेत्रका साझेदार प्रसारकहरुका निम्ति तीसवटा भन्दा बढी नयाँ टेलिभिजन कार्यक्रमहरु सहित अफ्रिकाभरि नै उसका टेलिभिजन सेवाहरु विस्तार गर्ने
  • अरब विश्व भरि नै नयाँ क्षेत्रीय कार्यक्रमहरुसहित बीबीसी अरेबिकको सेवा विस्तार गर्ने
  • सामाजिक सञ्जाल र अनलाइन डिजिटल सामाग्रीहरु सहित कोरियाली प्रायद्वीपका श्रोताप्रति लक्षित मिडियम वेभ तथा शर्ट वेभ रेडियो प्रसारणहरु शुरु गर्ने
  • अँग्रेजी विश्व सेवामा विस्तारित एजेण्डा तथा थप मौलिक पत्रकारिता सहित नयाँ कार्यक्रमहरु शुरु गर्न लगानी गर्ने

बीबीसी विश्वसेवाकी निर्देशक फ्रान्सेस्का अन्सअर्थले भनिन्, “युद्ध, क्रान्ति र विश्वव्यापी परिवर्तनहरु हुँदा संसारभरिका मानिस स्वतन्त्र, विश्वसनीय र निष्पक्ष समाचारकालागि विश्व सेवा माथि भर पर्ने गरेका छन्।”

उनले थपिन्, “एउटा स्वतन्त्र प्रसारकका रुपमा, धेरै ठाउँहरुमा बढी हैन, कम अभिव्यक्ति स्वतन्त्रता उपलब्ध भएका बेला, यसअघि जस्तै २१ औं शताब्दीमा पनि हामी उत्तिकै सान्दर्भिक छौं।”

उनी भन्छिन् “आजको घोषणा भविष्यकालागि लगानी गरेर विश्व सेवालाई रुपान्तरण गर्ने बारेको हो। हामीले फरक ढँगले समाचार ग्रहण गरिरहेका हाम्रा श्रोतालाई पछ्याउनै पर्छ। ठूलो संख्यामा मानिसहरुले टिभीमा विश्व सेवा हेरिरहेका छन् र केही सेवाहरु डिजिटल मात्रै छन्। खासगरी हाम्रा युवा श्रोताकालागि हामीले हाम्रो डिजिटल रुपान्तरणलाई तीव्र पार्नेछौं र भिडियो समाचार बुलेटिनमा लगानी गर्न जारी राख्‍नेछौं। स्वतन्त्र र निष्पक्ष पत्रकारिताकालागि हाम्रो प्रतिबद्धता भने बदलिने छैन।”

नयाँ घोषणासँगै अब बीबीसी विश्व सेवा अँग्रेजी लगायत ४० वटा भाषाहरुमा उपलब्ध हुनेछ।

बीबीसीका महानिर्देशकले सन् २०२२ मा आफ्नो स्थापना भएको सय वर्ष पूरा हुने बेलासम्म बीबीसीको विश्वभरि श्रोता संख्या ५० करोड पुर्याउने लक्ष्य राखेका छन्।