ट्रम्प साझेदार बन्नसक्ने असदको अपेक्षा

  • 16 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

सिरियाली राष्ट्रपति बसर अल असदले भनेका छन्, आतंकवादसँग लड्ने वाचामा कायम रहि अघि बढे अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्प आफ्ना स्वाभाविक साझेदार बन्नेछन्।

तर उनले सिरियाबारे अमेरिकाले अख्तियार गरेको नीति ट्रम्पले परिवर्तन गर्छन् कि गर्दैनन् भनेर आफू पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गरे।

चुनावी अभियानका क्रममा डोनल्ड ट्रम्पले इस्लामिक स्टेट जिहादी समूहलाई समाप्त पार्ने बताउँदै सिरियाली विद्रोहीहरुलाई समर्थन गर्ने ओबामा प्रशासनको निती विरुद्ध प्रश्न उठाएका थिए।

अभियानकर्ताहरुका अनुसार तीन हप्तापछि पुन: सिरियामा रुस समर्थित सरकारी विमानहरुबाट बम हमला भएको छ।

शंका

तस्वीर कपीराइट AFP

राष्ट्रपति निर्वाचित ट्रम्पले चुनावी अभियानका क्रममा सिरियाली फौज तथा इस्लामिक स्टेट दुवै विरुद्ध युद्ध गर्नु पागलपन भएको बताउँदै सिरियामा जारी लडाँइले रुससँग पनि युद्ध निम्त्याउन सक्ने बताएका थिए।

पोर्चुगलको सरकारी टेलिभिजनसँग बोल्दै असदले अहिले नै ट्रम्पले के गर्छन् भनेर भन्न नसक्ने भएपनि आतंकवाद विरोधी लडाईंमा उनले साथ दिए रुस, इरान र अन्य कयौँ देशहरुका लागि उनी स्वभाविक साझेदार बन्ने बताए।

उनले इस्लामिक स्टेट विरुद्ध लड्ने ट्रम्पको वाचा उत्साहजनक भएपनि प्रशासन भित्रका व्यक्ति तथा मूलधारका संचारमाध्यमको सामना गर्दै के उनले परिणाम दिनसक्छन् भनेर प्रश्न गरे।

उनले भने, “उनले गर्न सक्लान् कि नसक्लान् वा आफ्ना वाचामै अडिग रहलान् कि नरहलान् भनेर हामीले सावधानीपूर्वक उनको मूल्याङ्कन गर्नेछौं, किनभने उनी विगतमा राजनीतिक पदमा थिएनन्।”

नीति

तस्वीर कपीराइट EPA

अहिले अमेरिकाले इस्लामिक स्टेट र अन्य जिहादी समूह विरुद्ध हवाई हमाला जारी राख्दै राष्ट्रपति असद विरुद्धका मध्यमार्गी विद्रोही समूहलाई समर्थन गर्ने निती लिएको छ।

तर असदले ती समूहहरुलाई आतंकवादी बताउने गरेका छन्।

न्युयोर्क टाइम्स सहित केही अमेरिकी सञ्चारमाध्यमहरुले ट्रम्पले असद विरुद्ध लडिरहेका विद्रोही समूहहरुलाई अमेरिकाले दिंदै आएको सहायता रोक्न सक्ने उल्लेख गरेका छन्।

द्वन्द्वको चपेटमा परेको सिरियामा सन् २०११ यताको गृहयुद्धमा ३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अभियानकर्ताहरुका अनुसार सरकारी विमानहरुले तीन हप्तापछि पहिलो पटक विद्रोहीहरुको नियन्त्रणमा रहेको अलेप्पोको पूर्वी जिल्लाहरुमा बम खसालेका छन्।

पछिल्लो आक्रमणमा कम्तिमा पाँच जना मारिएको र एउटा अस्पतालमा क्षति पुगेको बताइएको छ।