अनुमति विना चलेका क्लिनीकमा सिलबन्दी

  • 18 नोभेम्बर 2016
Image caption अनुगमनलाई निरन्तर र स्थायी बनाउने मन्त्रालयले जनाएको छ।

काठमाण्डौं उपत्यकामा हालै अनुगमन गरिएका मध्ये ३२ वटा निजी स्वास्थ्य संस्था र क्लिनीक विना दर्ता संचालन गरिएको भेटिएकाले ती संस्थामा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चार दिनमा डेढ सयवटा संस्थामा अनुगमन गरिएको र अब त्यस्तो अनुगमन देशैभर गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

पहिलो चरणमा दर्ता निरीक्षण र दोस्रो चरणमा गुणस्तरको अध्ययन गर्ने योजना मन्त्रालयले बनाएको बताएको छ।

संवेदनशील

मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा सेवा पुर्याउन संचालन गरिएका निजी स्वास्थ्य संस्था र क्लिनीकहरु दर्ता विना नै संचालन गरिएका र गुणस्तरमा ध्यान नदिएको गुनासोका माझ स्वास्थ्य मन्त्रालयले चार दिन अघिदेखि अनुगमन थालेको थियो।

पहिलो चरणको अनुगमन स्वास्थ्य संस्था र क्लिनीकको दर्ता र नविकरणमा केन्द्रित गरिएको छ।

त्यसबाट निकै चिन्ताजनक नतीजा देखिएको स्वास्थ्य मन्त्रीका निजी सचिव शालिकराम दाहालले बताए।

"चार दिनमा १ सय ५० भन्दा बढीको अनुगमन गर्दा ३२ वटा स्वास्थ्य संस्थामा सिलबन्दी गर्नु परेको छ। ती मध्ये अधिकांश दर्ता नै नभइ संचालनमा रहेकाहरु छन्," उनले भने।

अहिले सम्मको अनुगमन राजधानीको बाहिरी भागमा केन्द्रित रहेको छ।

दुई हप्ता भित्रमा काठमाण्डौं उपत्यकाको सबै संस्थाहरुको अनुगमन गरिसक्ने योजना मन्त्रालयले बनाएको छ। त्यसका लागि दुई वटा टोली परिचालन गरिएको बताइएको छ।

विस्तार

अनुगमनलाई देशभर निजी स्वास्थ्य संस्था रहेका क्षेत्रमा विस्तार गर्ने योजना अनुरुप राजधानी बाहिर बाँके र मोरङमा समेत विहिबार देखि अनुगमन थालिएको छ।

स्वास्थ्य सेवा दिने भन्दै संचालन गरिएका संस्थाहरुले दिने सेवाको गुणस्तरका बारेमा भने दोस्रो चरणमा अनुगमन गर्ने योजना रहेको चिकित्सा सेवा महाशाखाका प्रमुख भोला राम श्रेष्ठले बताए।

उनले भने, "अनुगमनमा स्थिति राम्रो देखिएको छैन। हामीले तोकेको मापदण्ड भित्र हुनु पर्ने हो। तर धेरै कुरा त्यहाँ छैन। हाल दर्ता र नविकरण मात्र हेरिएको छ। त्यसपछि सेवाको गुणस्तरको जिल्ला, क्षेत्र र विभागबाट अनुगमन हुन्छ।"

त्यसका लागि हाल राजधानीमै रहेका सबै क्षेत्रीय स्वास्थ्य निर्देशकहरुलाई शुक्रबार जानकारी गराउने र उनीहरु कार्यक्षेत्रमा पुगे लगत्तै काम अघि बढ्ने श्रेष्ठले बताए।

हाल देशभर निजी क्षेत्रबाट कतिवटा स्वास्थ्य संस्था संचालनमा रहेका छन भन्ने बारेको यकीन आँकडा सरकारसँग नरहेको बताइएको छ।