ट्रम्प मन्त्रिमण्डल चुन्दै

  • 18 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिमण्डलका सदस्यहरु चयन गर्न थालेको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन्।

ती मध्ये केही सदस्यहरु आफ्नो धारणाका कारण विगतमा विवादास्पद बनेका थिए।

डोनल्ड ट्रम्पले अलाबामाका सिनेटर जेफ सेसन्सलाई महान्यायाधिवक्ता बन्ने आग्रह गरेको अमेरिकी सञ्चार माध्यमले बताएका छन्।

भूतपूर्व अभियोजनकर्ता सेसन्स सन् १९९६ मा सिनेटमा निर्वाचित भएका थिए र ट्रम्पको चुनावी अभियानका क्रममा उनका नजीकका सहयोगी मध्ये एक थिए।

सल्लाहकार

अवकाशप्राप्त जनरल माइकल फ्लिनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद स्वीकार गरेको बुझिएको छ।

ती दुबै जना विगतमा जातीय विभेद गर्ने किसिमका टिप्पणीहरु गरेपछि विवादित बनेका थिए।

सेसन्स र फ्लिन ट्रम्पको चुनावी अभियानको शुरुवातदेखि नै उनका निकट सहयोगी रहेका छन् र उनको विचारधारालाई समर्थन गर्दछन्।

गैरकानुनी आप्रवासीले नागरिकता पाउने कुनै पनि तरिकाको सेसन्स विरोध गर्दछन् र मेक्सिकोसंगको सिमानामा पर्खाल बनाउने ट्रम्पको योजनाको उनले उत्साहपूर्वक समर्थन गरेका थिए।

आलोचक

सन् २०१४ मा सैनिक गुप्तचर विभागको निर्देशकको पदबाट बर्खास्त गरिएदेखि फ्लिन ओबामा प्रशासनको आलोचक बनेका थिए।

उनी चरानसंगको परमाणु हतियार सम्बन्धी सम्झौता पुनरावलोकन गर्ने, रुस संगको सम्बन्ध सुधार गर्ने र चरमपन्थी मुसलमानहरु विरुद्धको लडाईं तीव्र पार्ने विषयहरुमा ट्रम्पसंग सहमत छन्।

ट्रम्पले कान्सासका सांसद माइक पोम्पियोलाई अनुसन्धान संस्था सिआइएको निर्देशक बन्ने प्रस्ताव गरेका छन्।

अपुष्ट

तर ट्रम्पले ती दुईजनालाई नियुक्त गरेको पुष्टि गर्न बाँकी नै छ।

नाम नखुलाउने शर्तमा सत्ता हस्तान्तरणमा सकृय ट्रम्पका सहयोगीहरुले त्यस्तो जानकारी दिएका हुन्।

तर ट्रम्पको टोलीमा संलग्न रिपब्लिकन राष्ट्रिय कमिटिका प्रवक्ता शन स्पाइसरले भने सिएनएन समाचार संस्थाका ती समाचारहरुको पुष्टि गरेनन्।