कट्टर आलोचक रोम्नीसँग ट्रम्पको भेट

  • 20 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption एकघण्टा भन्दा बढी समय चलेको भेटका क्रममा उनीहरुबीच विभिन्न विश्वव्यापी मुद्दामा छलफल भएको बताइएको छ

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीभित्रका आफ्ना कट्टर आलोचक मिट रोम्नीलाई भेटेका छन्।

रोम्नीलाई विदेशमन्त्रीको पद प्रस्ताव गर्न सकिने भन्ने अडकलबाजीमाझ उनीहरुबीच यो भेट भएको हो।

शनिबार ८० मिनेट लामो भएको भेटबारे दुवैले विस्तृत विवरणहरु दिएका छैनन्।

अड्कलबाजी

न्यू जर्सीमा रहेको ट्रम्प न्यासनल गल्फ क्लबमा मिट रोम्नी पुग्दा उनलाई ट्रम्पले आफ्नो पुरानो साथी जसरी स्वागत गरेका थिए।

रोम्नीले ट्रम्पसँगको भेट दूरगामी र विस्तृत भएको बताएका छन्।

भेटमा उनीहरुबीच केही कुरा भएको भए रहेछ भनेपनि आउँदो नयाँ प्रशासनमा रोम्नीको भूमिका के हुन्छ भन्नेबारे चाहिँ उनले केही बोलेनन्।

तर राष्ट्रपतीय चुनावको प्रचारप्रसारका क्रममा रोम्नीले ट्रम्पलाई धोकेबाज भनेका थिए।

इच्छा

ट्रम्पले चाहिँ रोम्नीको सन् २०१२ को राष्ट्रपतीय दौडलाई अहिलेसम्मकै खराब र असफल भनेका थिए।

तर विगतमा दुईजनाबीच तीतो सम्बन्ध रहे पनि रोम्नीलाई ट्रम्पले आफ्नो कार्यकालमा विदेशमन्त्रीको पदका लागि प्रस्ताव गर्न सक्ने अड्कलबाजी भइरहेका छन्।

सन् २०१२ को राष्ट्रपतीय दौडमा पराजित भएका रोम्नी अब फेरि राजनीतिमै फर्कन चाहिरहेको बताइएको छ।

उनी त्यति नै बेला फर्कन चाहेको बताइन्छ जतिबेला ट्रम्पले आफ्नो तिक्ततापूर्ण चुनावी प्रचारप्रसारपछि सम्बन्ध सुधार गर्ने इच्छा देखाएका छन्।