म्यानमारमा ‘रोहिञ्ज्याका घर नष्ट’

  • 21 नोभेम्बर 2016

अभियानकर्ता समूह ह्युमन राईट्स वाचले बताएको छः भूउपग्रहले खिचेका म्यानमारको रखाईन राज्यका तस्वीरहरुमा अल्पसंख्यक रोहिञ्ज्या समुदायका गाउँका १२ सय भन्दा बढी घरहरु नष्ट गरिएको देखिएको छ।

गत नोभेम्बर महिनाको १० देखि १८ तारिखका बीचमा ८२० वटा संरचना ध्वस्त बनाईएको देखाउने भनिएका भूउपग्रहले तस्वीरहरु त्यो समूहले सार्वजनिक गरेको छ।

सेनाले रखाइनमा सुरक्षा कारवाही शुरु गरेको छ तर सरकारले भने घरहरु जलाएको अस्वीकार गरेको छ।

रोहिञ्ज्याहरु संसारकै सबभन्दा बढी सताईएका अल्पसंख्यक समुदाय मध्ये एक हुन्।

अपुष्ट

त्यो क्षेत्रमा विदेशी पत्रकारहरुलाई प्रवेश निषेध गरिएको हुनाले बीबीसीले स्वतन्त्र रुपमा रोहिञ्ज्या गाउँहरुको विनाशलाई पुष्टि गर्न सक्दैन।

दसौं हजार मानिसहरु त्यो ठाउँ छोडेर भागेका छन्।

म्यानमारको सरकारले रोहिञ्ज्याहरुले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्नका लागि आफ्नै घर जलाउँदै गरेको बताएको छ।

चीनसंगको सीमाक्षेत्रमा नियोजित आक्रमणमा ९ जना प्रहरी अधिकारी मारिएपछि गत महिना ठुलो सुरक्षा कारवाही थालिएको हो।

आरोप

केही सरकारी अधिकारीहरुले एउटा लडाकु रोहिञ्ज्या समूहलाई आक्रमण गरेको आरोप लगाएका छन्।

कारवाहीमा १०० जना भन्दा बढी मारिएको र सयौं गिरफ्तार गरिएको रोहिञ्ज्या अभियानकर्ताहरु बताउँछन्।

सैनिकहरुमाथि यातना, बलात्कार र हत्या लगायतका गम्भीर दुर्व्यवहार गरेको आरोप लागेको छ, जुन सरकारले अस्वीकार गरेको छ।

रोहिञ्ज्याहरु भागेर बांग्लादेश जाने प्रयास गरिरहेको समयमा बांग्लादेशले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ।

आलोचना

म्यानमारका करीब १० लाख रोहिञ्ज्यालाई त्यहाँका बहुसंख्यक बौद्धमार्गीले बांग्लादेशबाट आएका गैरकानुनी आप्रवासी ठान्दछन्।

उनीहरु त्यहाँ पुस्तैदेखि बसेको भएतापनि सरकारले उनीहरुलाई नागरिकता दिन अस्वीकार गरिरहेको छ।

रखाइन राज्यमा सन् २०१२ मा चर्केको जातीय द्वन्द्वमा परेर दर्जनौंको मृत्यु भएको थियो र १ लाख भन्दा बढी विस्थापित भएका थिए।

गत वर्ष चुनाव जितेको नोबेल पुरस्कार विजेता आङ सान सू चीको न्याशनल लीग फर डेमोक्रेसी पार्टीले रखाइन क्षेत्रको स्थितिको बारेमा अन्तर्राष्ट्रिय आलोचना खेपिरहेको छ।

राष्ट्रपतिका प्रवक्ता चौ ह्टेले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गलत खबर प्रकाशित गरिरहेको बताएका छन्।