ब्रिटिश सांसदका हत्यारालाई आजीवन कारावास

  • 23 नोभेम्बर 2016

ब्रिटेनको एउटा अदालतले विपक्षी लेबर दलकी सांसद जो कक्सको हत्या गरेकोमा एकजना मानिसलाई आजीवन कारावासको सजाय सुनाएको छ।

५३ वर्षीय माएरले उत्तरी ईंग्लण्ड स्थित वेस्ट योर्कशायरको बर्स्टलमा कक्सको आफ्नो निर्वाचन क्षेत्रमा “ब्रिटेन पहिले” भनेर चिच्याउँदै कक्सलाई गोली हानेका थिए र धारिलो हतियारले प्रहार गरेका थिए।

त्यो घटना गत जुन महिनाको १६ तारिखमा ब्रिटेनले युरोपेली संघ छोड्ने विषयको जनमतसंग्रह हुनुभन्दा केही समय अघि भएको थियो।

विवाहित र २ सन्तानकी आमा कक्स ब्रिटेन युरोपेली संघ मै रहनुपर्छ भन्ने पक्षकी प्रखर समर्थक थिइन्।

बयान

माएरले आफु दोषी भएको वा नभएको बारे कुनै बयान दिएनन् र आफ्नो बचाउमा कुनै प्रमाण प्रस्तुत गरेनन्।

फैसला सुनाइनु भन्दा अगाडि माएरले अदालतमा बोल्ने अनुमति मागेका थिए तर उनले त्यस्तो अवसर पहिले नै पाइकेको भन्दै न्यायाधीशले उनको अनुरोध अस्वीकार गरे।

न्यायाधीशले फैसला सुनाइरहँदा माएर भावशून्य देखिन्थे।

न्यायाधीश जस्टिस विल्कीले त्यो हत्या श्वेत जातिको सर्वोच्चता स्थापना गर्ने हिंसात्मक अभियानसंग सम्बन्धित रहेको बताए।

बदला

तस्वीर कपीराइट Reuters

कक्सका बाबुआमा तथा परिवारका अन्य सदस्य पनि अदालतमा उपस्थित थिए र अदालतमा पढेर सुनाइएको एउटा वक्तव्यमा कक्सका पति ब्रेण्डनलले आफु त्यहाँ बदलाका लागि नगएको भन्दै मायरप्रति दयामात्रै अनुभव गरेको बताए।

फैसला सुनाउने बेलामा न्यायाधीश जस्टिस विल्कीले माएरले देशभक्त भएको जस्तो गरेता पनि कक्स नै साँचो देशभक्त भएको बताए।

माएरले हप्तौंदेखि त्यो हत्याको योजना बनाएको र दुई साना बालबालिकाकी आमा भएको जान्दाजान्दै पनि ती सांसदको हत्या गरेको लगायतका कारणले उनको अपराधका लागि आजीवन कारावास नै सजाय दिएको विल्की ले बताए।

अभियोजनकर्ता क्राउन प्रोसेक्युशन सर्भिसले एउटा वक्तव्यमा माएरले कुनै स्पष्टीकरण नदिएको भएतापनि अभियोजनकर्ता पक्षले उनको अपराध आतंकवाद सरह भएको पुष्टि गर्न सफल भएको बताएको छ।