http://www.nepali.com

30 डिसेम्बर, 2008 12:04 GMT सम्मका समाचारहरु

सन्तुलन

तर्क वा विचारमा जस्तै शब्द, पदावली, आदर, तुलना, व्यवहार आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ। ध्यान दिनुहोस्:

• नेपालमा हिमाली, पहाडी र तराई तीनै क्षेत्रमा पशुपालन हुन्छ।
वाक्यमा संयोजकले जोडेका शब्द र पदावली एकै कोटिका हुनुपर्छ। हिमाली र पहाडी विशेषण हुन् भने तराई नाम हो। सन्तुलन ल्याउन भन्नुपर्छ ― हिमाल, पहाड र तराई तीनै क्षेत्रमा पशुपालन हुन्छ।

— पढाइ, सुत्‍नु र व्यायाम विद्यार्थीका लागि उत्तिकै महत्त्वपूर्ण छन्।
कि 'पढ्नु, सुत्‍नु र व्यायाम गर्नु' भन्ने, नत्र 'पढाइ, सुताइ र व्यायाम' भन्ने।

— लक्ष्मीलाई पढेको भन्दा खेल्न मन पर्छ।
कि 'पढेको भन्दा खेलेको मन पर्छ' भन्ने, नत्र 'पढ्न भन्दा खेल्न मन पर्छ' भन्ने।

— पीपलको बोट उखेले पनि आफ्नो मनमा रहेको विश्‍वास भने उनले फाल्न सकेनन्।
'पीपलको बोट उखेले पनि...विश्‍वास भने उखेल्न सकेनन्।'

— खानेपानी संस्थानले वितरण गरेको पानी नउमाली पिउन सकिंदैन।
'पिउन सकिंदैन' होइन, खान सकिंदैन भन्नु राम्रो। किनभने हामी पानी खान्छौं, पिउँदैनौं। त्यसैले त संस्थानको नाम पनि 'खानेपानी' रहेको हो।

• भूपि शेरचन अत्यन्त लोकप्रिय कवि हुन्। उहाँका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्।
जुन तहको आदर दिने हो त्यसमा एकरूपता हुनुपर्छ। एउटै व्यक्तिलाई कहीं तिमी कही तपाईं भन्नुहुँदैन। लिंग, जात, पद, बसाइ आदिका आधारमा आदरको तहमा फरक पर्न हुँदैन।

अनौपचारिक भनाइमा 'तिमी' भन्नु राम्रो हुन्छ। यहाँ पनि 'उनका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्' भनेको राम्रो।

— उसका बुबा मन्त्री हुन् तर उनी पत्रिका बेचेर पढाइ खर्च जुटाउँछन्।
'उनका बुबा मन्त्री हुन्। तर उनी...'

— सचिवज्यू हाँस्न थाल्नुभयो। अनि शाखा अधिकृत र सुब्बा साहेब पनि हाँसे।
'सचिव हाँस्न थाले। अनि...'

— मधेसी र पहाडियाका बीच भेदभाव हुनुहुँदैन।
'मधेसी र पहाडिया' भन्नु आफैंमा ज्यादै ठूलो भेदभाव हो। मधेसका बासिन्दालाई 'मधेसी' भनेपछि पहाडका बासिन्दालाई पनि पहाडी' भन्नुपर्छ। हिन्दी र त्यसबाट प्रभावित भाषा/भाषिकाहरूमा सानो, कमजोर वा तुच्छ भन्ने जनाउन अथवा होच्याउन शब्दमा 'इया' लगाइन्छ। जस्तैः पुलिया (सानो पुल), पुलिसिया (जाबो पुलिस), औरतिया (नाथे आइमाई)। 'पहाडिया' पनि 'पहाडी' लाई होच्याउने शब्द हो। ('मधेसी' लाई 'मधेसिया' भन्नु पनि त्यस्तै हो!)

• फिलिप्सको टेलिभिजन स्यामसुङभन्दा सस्तो छ।
तुलना गरिन लायक वस्तुहरूबीच मात्र तुलना गर्नु सन्तुलित हुन्छ। फिलिप्स जस्तै स्यामसुङ पनि एउटा कम्पनीको नाम हो जसले यस ब्रान्डका टेलिभिजन लगायत थुप्रै सामग्री उत्पादन गर्छ। सिङ्गै कम्पनीको एउटा टेलिभिजन सेटसँग तुलना हुन सक्दैन। यहाँ भन्नुपर्छ ― फिलिप्सको टेलिभिजन स्यामसुङको भन्दा सस्तो छ।

— रानीपोखरी समुद्रभन्दा सानो छ।
कुरा सही हो तर तुलना गरिएका वस्तुहरूबीच अतुलनीय अन्तर भएकाले यस्ता वाक्य हँसाउन मात्र काम लाग्छन्।

— भेडेटार बढी चिसो छ।
कहाँभन्दा बढी? जसको तुलनामा बढी/कम भनिएको हो त्यसको उल्लेख गर्नैपर्छ। जस्तै: भेडेटार धरानभन्दा बढी चिसो छ।

— विनीता आफूलाई चलाख र अरूलाई फोहरी ठान्छे।
दुई विपरीत गुण, विशेषता आदिलाई दाँजेर प्रस्तुत गरिने वाक्यमा विपरीतार्थक शब्दकै प्रयोग गर्नुपर्छ। नत्र त्यसमा ज्यान आउँदैन। यहाँ भन्नुपर्छ ― विनीता आफूलाई चलाख र अरूलाई मूर्ख/लाटो ठान्छे। अथवा ― आफूलाई सुग्घरी र अरूलाई फोहरी ठान्छे।

• पूर्वी नेपाल र पश्‍चिमका नेपालीहरूको जीवनस्तर समान छैन।
उही तह वा अवस्थाका व्यक्ति, वस्तु आदिप्रति समान स्तरको व्यवहार हुनुपर्छ। यहाँ पनि कि 'पूर्व र पश्‍चिमका नेपालीहरूको' भन्नुपर्छ, नत्र 'पूर्वी नेपाल र पश्‍चिमी नेपालका जनताको' भन्नुपर्छ।

— हिन्दूका मन्दिरमा मूर्ति राखिएको हुन्छ भने मस्जिदमा मूर्ति हुँदैन।
कि 'हिन्दूका' नभन्ने (मन्दिर हिन्दूकै मात्र हुन्छन्), नत्र मस्जिदलाई पनि 'मुसलमानका' भनेर चिनाउने।

— पोख्रेल, बस्नेत र नरबहादुर तुरुन्तै घर फर्के।
दुई जनाको थर मात्र अनि एउटाको नाम मात्र किन ? कि सबैको थर मात्र भन्नुपर्‍यो, कि सबैको नाम मात्र।

— कार्यक्रममा पूर्व मेयर दिनेश स्थापित र मानकुमारी मगरले पनि बोलेका थिए।
मानकुमारी पनि मेयर भइसकेकी हुन् भने 'पूर्व मेयरहरू' भन्ने, नत्र दिनेशको जस्तै उनको पनि परिचय खुलाउने।

— सो अवसरमा बझाङका विमल कठायत, पोखराकी तारा पुन र डिल्लीबजारकी विजया महर्जनले नृत्य प्रस्तुत गरेका थिए।
बझाङ जिल्ला हो, पोखरा शहर हो र डिल्लीबजार काठमाडौंको एउटा टोल हो। तिनको हैसियत फरक छ। सबैलाई एउटै हैसियतमा राखेर प्रयोग गर्न हुँदैन। यहाँ पोखराको ठाउँमा कास्की र डिल्लीबजारको ठाउँमा काठमाडौं भन्नु राम्रो हुन्छ।