http://www.nepali.com

30 डिसेम्बर, 2008 14:55 GMT सम्मका समाचारहरु

अनुवाद

अनुवाद गर्दा मूल भाषाको छायाँले नछोपोस् र आशय नउल्टियोस् भनेर सधैं सतर्क रहनुहोस्।

छायाँ पर्दा अनुवाद गरिएको कुरा मात्र होइन आफ्नै भाषा समेत विकृत हुँदै जाने डर हुन्छ भने शब्दको आशय र अर्थ पर्गेल्न नसक्दा 'म गर्छु आग्राका कुरा, ऊ गर्छ गाग्राका कुरा' हुन पुग्छ।

• तिमी तिम्रो घर जाऊ।
यो अंग्रेजीको छायाँ परेको वाक्य हो। यसलाई नेपाली बनाउन भन्नुपर्छ ― तिमी आफ्नो घर जाऊ।

— श्याम उसको होमवर्क नगरी आएको रहेछ।
यहाँ पनि कुरा उही हो। 'उसको' को सट्टा 'आफ्नो' शब्द राख्‍नुपर्छ।

— जब उनी फेल भइन्, सीता निकै रोइन्।
अंग्रेजी वाक्यमा पहिले सर्वनाम, त्यसपछि नाम राख्‍ने चलन छ। नेपालीमा भने पहिले नाम, त्यसपछि मात्र सर्वनाम आउँछ। त्यसैले भन्नुपर्छ ― जब सीता फेल भइन्, उनी निकै रोइन्। (अझ राम्रो त 'फेल भएपछि सीता निकै रोइन्' हुन्छ।)

— म ज्यादै खुशी हुनेछु, यदि तिमी भोलि नै फर्क्यौ भने।
यो पनि अंग्रेजीबाटै प्रभावित वाक्य हो। नेपाली शैलीको वाक्य हुन्छ ― तिमी भोलि नै फर्क्यौ भने म ज्यादै खुशी हुनेछु।

• के विद्यार्थीले हप्‍तैपिछे डिस्को जानु ठीक हो?
नेपाली प्रश्‍नवाचक वाक्यको शुरुमा त्यसलाई चिनाउने मात्र उद्देश्यले आउने 'के'लगाउनुपर्दैन। त्यो अंग्रेजीको छायाँ मात्र हो। (बरु वाक्यको अन्त्यमा 'त' लगाउन सकिन्छ।)

• उहाँ एक हेलिकप्टर चढेर जानुभयो।
— उनले एउटा टोपी लगाएका थिए।
कुनै पनि मानिस एकैचोटि दुइटा हेलिकप्टर चढ्न सक्तैन र उसले एकसाथ दुइटा टोपी पनि लगाउँदैन। अर्थ न बर्थसँग थोपरिएर आउने यस्तो 'एक' वा 'एउटा' अंग्रेजीको 'आर्टिकल'(अ/एन) को छायाँ हो । यसबाट बच्नैपर्छ ।

• उहाँ मात्र तीन दिन पोखरा बस्नुभयो।
'मात्र' ले आफूभन्दा पहिले आएको शब्दमा जोड पुर्‍याउँछ। यस वाक्यमा 'केवल तीन दिन' भन्न खोजिएकाले 'उहाँ तीन दिन मात्र...' भन्नुपर्छ। नत्र 'उहाँ मात्र' तीन दिन पोखरा बस्नुभएछ, अरू चाहिं बसेनछन् भन्ने अर्थ लाग्छ।
'मात्र तीन दिन' जस्तो प्रयोग अंग्रेजी/उर्दूको छायाँ हो। अंग्रेजीमा 'ओन्ली थ्री डेज' भनिन्छ भने उर्दूमा 'सिर्फ तीन रोज'।

• म तपाईंलाई धन्यवाद दिन चाहन्छु।
'लाइक टु' को छायाँले यस वाक्यलाई विकृत बनाएको छ। धन्यवाद दिन चाहेर मात्र के गर्नु?
'धन्यवाद दिन्छु' भने पो दिएको ठहरिन्छ र पाउनेले पनि पाउँछ। नत्र त चिल्लै!

• अब म आफ्नो कविता वाचन गर्न गइरहेको छु।
'गोइङ टु' को छायाँले यस वाक्यलाई हास्यास्पद बनाइदिएको छ। यस्तो लाग्छ, ऊ कविता वाचन गर्न भनेर तत्काल कतै हिंडिहाल्न आँटेको छ। (यस्तो ठाउँमा सीधासादा नेपाली पाराले 'म अब आफ्नो कविता वाचन गर्दछु' भन्नु नै सबैभन्दा राम्रो!)

• 'बलियो र चम्किलो दाँतको लागि, एभरेष्‍ट टुथपेस्ट।'
एक ताका निकै प्रचलित यस विज्ञापनले बलियो र चम्किलो दाँतका लागि मात्र एभरेष्‍ट टुथपेस्ट काम लाग्छ, कमजोर र नचम्किने दाँतका लागि चाहिं काम लाग्दैन भन्ने अर्थ दिन्छ। यसरी उल्टो अर्थ दिनुको कारण हो— अंग्रेजीको 'फर' को अद्‍भेस्रो अनुवाद।

• सुरक्षाका कारण अमेरिकी राष्ट्रपतिको इराक यात्रा स्थगित।
यात्रा त 'असुरक्षाका कारण' स्थगित भएको हो तर 'सेक्युरिटी रीजन' को शाब्दिक अनुवादले यस्तो वाक्य खडा गरेको हो।

• नेपाल अहिले कमजोर अवस्थामा छ तर यसलाई कमजोर रहिरहन अनुमति दिइनुहुँदैन।
यस्तो लाग्छ, मानौं नेपाल कसैको अनुमति लिएर कमजोर हुने गरेको रहेछ। 'शुड नट बी अलाउड' को छायाँ परेर यस वाक्यको यस्तो बिजोक भएको हो।

• युद्धदेवलाई केही भएन तर लडाकुहरूले पूँजी सजाय पाए।
भन्नुपर्ने हो 'युद्ध सरदार', तर 'वार लर्ड' को शाब्दिक अनुवादले ऊ 'युद्धदेव' हुन पुगेछ। त्यसैगरी, 'क्यापिटल पनिशमेन्ट' को अर्थ मृत्युदण्ड हुन्छ भन्ने थाहा नपाँउदा त्यो 'पूँजी सजाय'(जरिवाना) हुन पुगेको छ।

• नीलो रगतका मतदाताले उनलाई मन पराए पनि राता भारतीयहरू भने उनको पक्षमा थिएनन्।
भन्न खोजिएको हो ― सम्भ्रान्त मतदाताले उनलाई मन पराए पनि रेड इन्डियन उनका पक्षमा थिएनन्। तर 'ब्लु ब्लडेड भोटर्स' को अर्थ नबुझ्दा र 'रेड इन्डियन' को भारत वा भारतीयसँग गोरू बेचेको साइनोपनि छैन भन्ने थाहा नपाउँदा अनर्थ भएको छ।

• सुरक्षा गार्डको परिवर्तन पछि उहाँ कोषको सचिव बन्नुभयो।
भन्नुपर्थ्यो ― सरकार परिवर्तन पछि उहाँ अर्थमन्त्री बन्नुभयो। तर 'चेन्ज अफ गार्ड' र 'सेक्रेटरी अफ ट्रेजरी' को अर्थ नबुझेर शाब्दिक अनुवाद गर्दा वाक्यको बिजोक भएको छ।

• उनले बुसलाई धन्यवाद दिए र बाँकी टोलीलाई आराम गर्न भने।
भन्न खोजिएको हो ― उनले बुसका साथै टोलीका सबै सदस्यलाई धन्यवाद दिए (हि थ्यांक्ड बुस एण्ड रेस्ट अफ द टीम)।

• फेसन गरेकी बूढी मोडल शेभरलेटलाई उनीहरूले एउटा नाउमा पुर्‍याए।
भन्न खोजिएको रहेछ ― उनीहरूले पुरानो मोडलको शेभरले कारलाई नाउको रूप दिए ( दे फेसन्ड ओल्ड शेभरले मोडल टु अ बोट)।

• शब्दको सन्दर्भ, आशय र अर्थ बुझ्न नसकेका कारण 'कमनवेल्थ नेसन' को अनुवाद 'साझा सम्पत्ति भएका राष्ट्रहरू', 'आउटस्ट्यान्डिङ पर्सनालिटीज' को अनुवाद 'बाहिर उभिएका व्यक्तित्वहरु', 'वन्स इन अ ब्लु मून' को अनुवाद 'एकपल्ट चन्द्रमा नीलो भएको वेला', 'ब्लु कलर वर्कर्स' को अनुवाद 'नीलो कलरका कामदार' र 'हेभन' (Haven) को अनुवाद 'स्वर्ग' भएको जस्ता उदाहरण यत्रतत्र देखिने गरेका छन् ।

अनुवाद गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने एक―एक शब्दको भाषान्तरण गर्नतिर कहिल्यै बल गर्नुहुँदैन, वाक्यांश वा समग्र वाक्यले भन्न खोजेको कुरा राम्ररी बुझेर त्यसलाई आफ्नो भाषामा उतार्नुपर्छ। शब्दको अर्थ थाहा वा स्पष्‍ट नहुँदा शब्दकोश हेर्नुपर्छ तर त्यसैमा मात्र भर पर्न हुँदैन।

एउटा शब्दका थुप्रै अर्थ हुन सक्छन् र शब्दकोशमा दिइएको भन्दा फरक अर्थ वा आशय पनि प्रसंगवश त्यसले अभिव्यक्त गरिरहेको हुन्छ।

अर्थ स्पष्‍ट पार्न कहिलेकाहीं संक्षिप्‍त व्याख्या आवश्यक हुन्छ जसका लागि सिंगो वाक्य नै पनि चाहिन सक्छ।

संक्षेपमा भन्दा, स्रोत भाषामा भनिएको कुरालाई आफ्नो भाषामा पुनर्लेखन गर्नु नै अनुवाद हो।