http://www.nepali.com

20 जुन, 2010 15:24 GMT सम्मका समाचारहरु

पुन:स्थापना थालिएपछि भुटानी शरणार्थीहरुको संख्या घट्दै

युएनएचसीआरका नेपाल प्रतिनिधि स्टिफेन ज्याकमेटका अनुसार पुन:स्थापना कार्यक्रम शुरु भए यता शिविरमा रहेका भुटानी शरणार्थीहरुको संख्या उल्लेख्य रुपमा घटन थालेको छ।

पूर्वी नेपालका सातवटा शिविरहरुमा रहेका करीब १ लाख १० हजार भुटानी शरणार्थीमध्ये ८७ हजार ८ सय २० जना भूटानी शरणार्थीहरुले तेस्रो देश पुनर्वास हुन ईच्छा गरेकोमा ३२ हजार १ सय ७६ जना तेस्रो देश पुनर्स्थापित भइसकेका छन्।

यसअघि तेस्रो देश जान नचाहने भुटानी शरणार्थीहरुले पनि अहिले आएर पुनर्स्थापित हुन इच्छा गर्न थालिसकेका छन्।

तेस्रो देश पुनर्वास गराउन शुरु भएयता ३२ हजार १ सय ७६ जना भुटानी शरणार्थीहरु तेस्रा मुलुकहरुमा पुनर्वास भइसकेका छन्।

पुनर्वास

ती मध्ये अमेरिकामा २७ हजार ९ सय २६, अस्ट्रेलियामा १ हजार ५ सय ३०, क्यानडामा १ हजार ४ सय ४५, डेनमार्कमा ३ सय २६, निदरल्याण्डसमा १ सय ७८, नर्वेमा ३ सय २४ र न्यूजिल्याण्डमा ४ सय ४७ भुटानी शरणार्थीहरु पुनर्वास भएका छन्।

अहिले पूर्वी नेपालका सातवटै शिविरहरुमा रहेका शरणार्थीहरुको संख्या ७९ हजार ८ सय ७ रहेको छ।

ती मध्येपनि ५६ हजार १ सय ८५ जनाले तेस्रो देश जाने इच्छा गरेका शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघको संस्था यूएनएचसीआरको दमक कार्यालयले जानकारी दिएको छ।

अहिले बेलायतले पनि १ सय जना भुटानी शरणार्थीलाई पुनर्स्थापित गराउने प्रक्रिया शुरु गरिसकेको छ।

शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय संस्था यूएनएचसीआरका नेपाल प्रतिनिधि स्टिफेन ज्याकमेटको अनुमानमा तेस्रो देश पुनर्वास हुने क्रम यसरी नै बढेको खण्डमा सन् २०१५ को अन्तसम्ममा नेपालमा रहेका भुटानी शरणार्थीहरुको संख्या घटेर ५ हजारमा आइपुग्नेछ।

हालसम्म शिविरमा बसिरहेकाहरुलाई समेत संयुक्त राज्य अमेरिकाले पुनर्स्थापित गराइदिने वचन दिएका कारणले पनि नेपालमा बस्ने शरणार्थीहरुको संख्या घट्ने ज्याकमेटले बताए।

शिविरहरुमा शरणार्थीहरुको संख्या घट्दै जाँदा शिविरहरुको संख्या घटाउने हो कि भन्ने विषयमा युएनएचसीआर भित्र र सरकारसंग छलफल शुरु भएको उनले जानकारी दिए।