‘पूर्वी अलेप्पोको ठूलो भूभाग सरकारी नियन्त्रणमा’

  • 29 नोभेम्बर 2016

सिरियामा विद्रोही नियन्त्रणमा रहेको पूर्वी अलेप्पो शहरको ठूलो हिस्सा सरकारी सेनाले पुन: आफ्नो कब्जामा लिएका बताइएको छ।

निरन्तरको गहन आक्रमण पछि सिरियाली विद्रोही लडाकुहरु तिनीहरुले लामो समयदेखि कब्जामा लिएका स्थानहरुबाट लखेटिएका पर्यवेक्षकहरुले बताएका छन्।

अभियानकर्ताहरुले विद्रोहीहरुले लगभग सम्पूर्ण रुपमा नै उत्तरी वस्तीमाथिको नियन्त्रण गुमाएको हुन सक्ने बताए।

तस्वीर कपीराइट File Photo

नियन्त्रण

संघर्ष चर्किरहंदा, त्यहांबाट हजारौं गैरसैनिकहरु भागीरहेका र कतिपय कुर्द लडाकुहरुको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश गरेका बताइएको छ।

पर्यवेक्षकहरुले सिरियाली सरकारी सैन्यले पूर्वी अलेप्पोमा पहिले विद्रोही नियन्त्रणमा रहेका एक तिहाई भूभागमा पुन: कब्जा जनाएको बताएका छन्।

चर्को हवाइ बम हमला पछि राष्ट्रपति बशर अल-असद समर्थक सैन्य अघि बढ्दा विद्रोहीहरुका लागि यो ठूलो क्षति भएको बताइएको छ।

सरकारी टेलिभिजनका अनुसार सरकारी सेना जमिन मुनि विछ्याइएका विस्फोटक पदार्थहरुलाई निष्कृय तुल्याउंदै अघि बढी रहेको छ।

सरकारी टेलिभिजन र ब्रिटेनमा रहेको एक पर्यवेक्षक समूहले जनाए अनुसार अलेप्पोको साखोर इलाका सिरियाली सेनाको नियन्त्रणमा पुगेको छ।

विभाजित

यसपछि विद्रोहीहरुले पहिले नियन्त्रणमा राखेको भूभाग दुई खण्डमा विभाजित हुन पुगेको छ।

यसअघि रुसको रक्षा मन्त्रालयले सिरियाली सरकारी सैन्यले विद्रोहीहरुबाट १२ वटा इलाका अर्थात झण्डै ४० प्रतिशत क्षेत्र पुन: आफ्नो कब्जामा लिएको बताएको थियो।

पर्यवेक्षकहरुका अनुसार सोमबार पनि हवाइ बम हमला जारी रहेको थियो।

सप्ताहान्तमा ठूलो बम हमला भएपछि त्यहां घेरावन्दीमा रहेका हजारौं गैरसैनिकहरु अन्यत्र भाग्न वाध्य भएका छन्।

त्यहांबाट सैयौं परिवार विस्थापित भएका छन्।

कार्वाही

सिरियाली सेना र उसका साझेदारहरुले अलेप्पो शहरलाई पुन: नियन्त्रणमा लिन गत सेप्टेम्बर महिनादेखि ठूलो स्तरको सैनिक कार्वाही संचालन गरिरहेका छन्।

शनिवार संघर्ष चर्किएपछि पूर्वी अलेप्पोका हजारौं वासिन्दा कुर्द समूह र सरकारी सैन्यको कब्जामा रहेका स्थान तर्फ भागेर गएका छन्।

सरकारी संचार माध्यमहरुले महिला पुरुष तथा बालबालिकालाई हरियो बसहरुमा राखेर सरकार नियन्त्रित इलाकामा लगिंदै गरिएको देखाएका छन्।

कुर्द समूहहरुले पनि विद्रोही नियन्त्रित क्षेत्रबाट मानिसहरु भागेर आएका तस्वीरहरु सार्वजनिक गरेका छन्।