‘यथास्थितिमा चुनाव असम्भव’

  • 6 डिसेम्बर 2016
सरकार मोर्चा वार्ता तस्वीर कपीराइट Pmo

देशलाई अस्थिरता तर्फ जानबाट रोक्न आम निर्वाचन गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाईमा प्रतिक्रिया जनाउँदै तराई केन्द्रित दलका नेताहरुले यथास्थितिमा निर्वाचन गरे देश दुर्घटनामा जाने बताएका छन्।

उनीहरुले सरकारले दर्ता गराएको संविधान संशोधन परिमार्जन सहित पारित गर्न सकिएमा मात्र निर्वाचनमा जान सकिने उल्लेख गरेका छन्।

सरकारले आफूले दर्ता गराएको संशोधन प्रस्तावलाई पारित गर्न सघाउन विपक्षी दलहरुलाई आग्रह गर्दै आएको छ।

संशोधनको विरोध गरिरहेको प्रमुख विपक्षी नेकपा एमालेले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएको बताउँदै त्यसविरुद्ध सडक र संसदमा विरोधहरु सञ्चालन गरिरहेको छ।

चुनाव

बीबीसीलाई सोमबार दिएको विशेष अन्तर्वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको चुनाव केही समय पर सारे केही फरक नपर्ने, तर स्थानीय र आम निर्वाचन गर्न सरकार दृढ हुनुपर्ने बताएकी छिन्।

तर उनको टिप्पणी प्रति प्रतिक्रिया दिंदै तराई केन्द्रित दलहरुले सरकारले प्रस्तुत गर्न खोजेको संविधान संशोधनकै आधारमा निर्वाचन सम्भव नहुने आफ्नो पुरानै अडान दोहोर्याएका छन्।

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले भने, "चुनावको नाराले मात्र चुनाव सम्भव हुँदैन, यसको लागि संविधानको संशोधन गराउनुपर्ने अनिवार्य अवस्था छ। हामीले जुन मधेश प्रदेश भनेका थियौं, त्यो मधेश प्रदेश आएको छैन।"

तर तराई केन्द्रित कतिपय दलका नेताहरुले भने राष्ट्रपतिको चिन्तालाई जायज भएको बताएका छन्।

सहमति

तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले संशोधन प्रस्ताव माथि थप संशोधन गरे चुनावी प्रकृयामा जाने बाटो खुल्ला हुने बताउँछन्।

उनले भने, "प्रधानमन्त्रीले जुन किसिमको परिमार्जनको कुरा गर्दै हुनुहुन्छ त्यो सहमतिको विन्दु नजिक छ। सबै त्यस हिसाबले अघि बढ्न सकियो भने संविधान संशोधन पनि हुन्छ र संगसंगै चुनावको सुनिश्चितता पनि हुन्छ।"

संविधान संशोधन प्रति असन्तुष्ट देखिएका तराई केन्द्रित दलहरु प्रमुख विपक्षी दल एमालेले संशोधन विधेयकलाई संसदमा पेश गर्न नदिन गरेको प्रयासप्रति भने खुशी देखिंदैनन्।

विधेयकमाथि आफू अनुकूलको संशोधन राख्ने बताएका तराई केन्द्रित दलका नेताहरुले त्यो पारित भए राष्ट्रपति भण्डारीले भने झैं स्थानीय र आम निर्वाचनको वातावरण बन्ने प्रतिक्रिया दिएका छन्।