अलेप्पोमा पाँच दिनको लागि युद्धविराम गर्न विद्रोहीको आह्वान

  • 8 डिसेम्बर 2016
सिरिया द्वन्द्व तस्वीर कपीराइट AFP

घेराबन्दीमा रहेको पूर्वी अलेप्पोमा रहेका सिरियाली विद्रोही लडाकुहरुले त्यहाँ रहेका सर्वसाधारण र घाइतेहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पाँचदिनको युद्धविराम गर्न आह्वान गरेका छन्।

सरकारी फौजले विद्रोही नियन्त्रित क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका बेला विद्रोहीहरुको पछिल्लो भनाई आएको हो।

तर सिरियाली राष्ट्रपति बसर अल असदले व्यवहारिक रुपमा युद्धविराम असम्भव रहेको प्रतिक्रिया दिएका छन्।

यातना

विद्रोही लडाकुहरुले सर्वसाधारणको सजिलोका लागि हुने कुनै पनि खालको पहलका लागि आफ्नो समर्थन रहने बताएका छन्।

सरकारी फौज विद्रोही नियन्त्रित क्षेत्रमा प्रवेश गरिरहेका छन् र अनवरत रुपमा जारी बमबारीमाझ बाँचिरहेका दशौं हजार मानिसहरुको सुरक्षाबारे चिन्ता प्रकट भइरहेका छन्।

पूर्वी अलेप्पोस्थित एकजना स्थानीय बासिन्दाले त्यहाँको अवस्था बताउँदै भने, "हालैका दिनमा धेरै मानिसहरु विस्थापित भएका छन् र दशौं हजार मानिसहरु कब्जामा पर्ने र ज्यानै जानेसम्मको यातना भोग्नुपर्ने खालको त्रासमाझ हामी बाँचिरहेका छौं।"

तस्वीर कपीराइट EPA

यसअघि अमेरिका र पाँचवटा पश्चिमा शक्ति राष्ट्रहरुले पनि एउटा संयुक्त वक्तब्य निकाल्दै विद्रोही नियन्त्रित क्षेत्रमा सहायता सामग्री पुर्याउन दिन तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्।

अस्वीकार

सिरियाली सरकारले भने उक्त क्षेत्रमा आफ्नो उपस्थिति बलियो बन्दै गएका बेला युद्धविराम गर्न अस्वीकार गरेको छ।

राष्ट्रपति बसर अल असदले, देशको दोस्रो ठूलो सहर अलेप्पोमाथिको विजय पाँचवर्ष लामो गृहयुद्ध अन्त्यका लागि एउटा ठूलो उपलब्धि हुने बताए।

असदले, उनकै शब्दमा, आंतकवादीहरु अन्य ठाउँमा रहेकाले अलेप्पोमाथिको विजयलाई युद्ध नै अन्त्य भएको रुपमा अर्थ्याउन नमिल्ने धारणा पनि राखेका छन्।

गत चारवर्षदेखि विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई सरकारी फौजले करिब ७५ प्रतिशत आफ्नो नियन्त्रणमा लिइसकेका छन्।