तापक्रम वृद्धिले उत्तरी ध्रुबमा उष्णलहर

  • 24 डिसेम्बर 2016
शनिबार उत्तरी ध्रुबको तापक्रम तस्वीर कपीराइट Image copyrightUNIVERSITY OF MAINE/ CLIMATEREANALY
Image caption शनिबार उत्तरी ध्रुबको तापक्रम औसतभन्दा निकै बढेर शुन्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ

क्रिशमसको पूर्व सन्ध्यामा शनिबार उत्तरी ध्रुबको तापक्रम औसत भन्दा बीस डिग्रीले बढेर रेकर्ड तोड्ने खालको उष्णलहर पैदा हुन सक्ने बैज्ञानिकहरुले बताएका छन्।

जलवायू बैज्ञानिकहरुले उत्तरी ध्रुब आसपासका क्षेत्रहरुको बेमौसमी तातो हावापानी मानवले गरेको जलवायू परिवर्तनसँग प्रत्यक्ष जोडिएको बताएका छन्।

आर्कटिक क्षेत्र भनिने उत्तरी ध्रुब आसपासका क्षेत्रको तापक्रम गत नोभेम्बर र डीसेम्बर महिनाभरी औसतभन्दा पाँच डिग्रीले बढी थियो।

जाडोयाम शुरु हुनु अघिको ग्रीष्मकालमा उत्तरी ध्रुबको समुन्द्रको बरफ अहिलेसम्मकै दोश्रो कम मात्रामा देखिएको स्याटलाइटले रेकर्ड गरेको छ।

अपेक्षा

अक्सफोर्डको इन्भार्नमेन्टल चेन्ज इन्स्टिच्यूटकी बरिष्ठ अनुसन्धानकर्ता डा. फ्रेडरिके ओट्टोले बीबीसी न्यूजलाई भनिन्, "औद्योगिक युगभन्दा अघिको समयमा यस्तो उष्णलहर असाध्यै दुर्लभ थियो। करिब एकहजार वर्षमा एकपटक त्यस्तो हुने हामी अपेक्षा राख्छौं।"

डा. ओट्टोले अहिलेको उष्णलहर मानव जनित कारण उत्पन्न जलवायू परिवर्तनका कारण आएकोमा बैज्ञानिकहरु असाध्यै विश्वस्त रहेको बताइन्।

जलवायू परिवर्तन सम्बन्धी थुप्रै मोडलिङ गरेर तिनको परिणाम आफूहरुले हेरेको उनले बताइन्।

र हरेक प्रक्रियाबाट मोडलिङ गर्दा मानव जनित कारण बाहेक अहिलेको उष्णलहर आउन नसक्ने परिणाम पाएको उनले बताइन्।

उत्तरी ध्रुबमा क्रिशमसको पूर्व सन्ध्यामा तापक्रम जीरो डिग्री सेल्सियस जति हुने अनुमान गरिएको छ।

उष्णलहर

उत्तर एटलान्टिकबाट तातो हावा उत्तरी ध्रुबसम्म पुग्ने क्रममा बन्ने बादलले उक्त ताप वायूमण्डलमा जानबाट रोक्ने भएकाले त्यसरी उष्णलहर पैदा हुने भएको हो।

डा. ओट्टोले बीबीसीलाई बुझाए अनुसार समुन्द्रमा बरफको मात्रा कम भएकाले त्यस्तो अवस्था आएको हो।

डा. ओट्टोका अनुसार यदि विश्वव्यापी रुपमा तापक्रम बढेको हो भने समुन्द्रमा भएको बरफ र जमिनमा भएको बरफ पग्लिन थाल्छ त्यसले गर्दा सूर्यको किरणको तातोपन जमिनले शोस्न थाल्छ जबकी बरफबाट भने सूर्यको किरण फिर्ता भएर जान्थ्यो।

मौसम पूर्वानुमान मोडलिङहरुले हरेक वर्ष त्यस्तो उष्णलहर पैदा हुनसक्ने सम्भावना दुई प्रतिशत रहेको देखाएका छन्।

यदि तापक्रम बढिरहे यस्तो उष्णलहर हरेक वर्ष आउन सक्ने र त्यसले इकोसिस्टममा ठूलो तनाव पैदा गर्ने डा. ओट्टोले बताइन्।

नासाका क्रायोस्फेरिक साइन्सेस ल्याब्रोटरीका प्रमुख डा. थोर्ष्टन मार्कसले त्यसप्रकारको उष्णलहर 'असाध्यै असाध्यै अस्वाभाविक' भएको बताए।

उनले बीबीसी न्यूजसँग भने- भयंकर डरमर्दो कुरा के हो भने ठिक एक वर्ष अघि पनि उत्तरी ध्रुबमा डिसेम्बर महिनामा तापक्रम शुन्य डिग्री पुगेको थियो।