प्रचण्ड-ओली बैठक: एमाले अडानमै

  • 1 जनवरी 2017
बैठक तस्वीर कपीराइट pm secretariat (फाइल फोटो)

संविधान संशोधन विधेयक सदनमा अघि बढाउन दिन प्रधानमन्त्री प्रचण्डले गरेको आग्रह प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्।

एमालेको अवरोधका माझ सत्तापक्ष विधेयक सदनमा प्रस्तुत गराउने तयारीमा लागेको भनिएका बेला राजनीतिक विवादको दुई किनारमा देखिएका दुई प्रमुख नेता प्रचण्ड र ओलीबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्रीले ओलीलाई संसद्को प्रक्रियामा सहमत गराउने प्रयास गरेका थिए।

एमाले सचिव सचिव प्रदीप ज्ञवालीले भने, "तर हाम्रो अध्यक्षकोतर्फबाट संशोधन विधेयकका कतिपय बुँदा संविधान विरोधी रहेकाले छलफल गर्न नमिल्ने कुरा राखियो, बैठक निष्कर्षमा पुग्न सकेन।"

सशक्त विरोध

सभामुखले प्रमुख दललाई आइतबारसम्म सहमति जुटाउन दिएको तीन दिन समय दिएकी थिइन्।

सत्तापक्षले संशोधन विधेयक सदनमा अघि बढाउने वचन मधेशी मोर्चालाई दिएकाले दलहरुबीच टकराव बढ्ने आशंका बढेको पाइन्छ।

विधेयक अघि बढाइएमा एमालेले अपनाउने नीतिबारे सचिव ज्ञवालीले भने, "संसद अवरोधका माझ विधेयक अघि बढाउनु असंसदीय हुन्छ। हामीले संसदीय विरोध सशक्त ढंगले हुन्छ।"

काठमाण्डूको गोप्य राखिएको स्थानमा भएको प्रचण्ड-ओली भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

श्रेष्ठमा अनुसार चुनाव, संसद अवरोध, अख्तियार प्रमुखविरुद्धको महाभियोग र संशोधन विधेयकबारे बैठकमा छलफल भएको थियो।

आशा बाँकी

दुबै दलका प्रमुख बाहेकका अन्य नेताबीच पनि सहमति खोज्न संयुक्त छलफल चलिरहेको छ।

सहमतिको सम्भावना जीवित रहेको बताउने नेता श्रेष्ठले त्यसको आधारबारे भने, "मधेशी मोर्चा पनि पहिलेकै ठाउँमा छैन, आधारभूत अडानमा परिवर्तन नगरे पनि एमाले समेत पहिलेकै ठाउँमा छैन भन्ने लागिरहेको छ। त्यसकारण आशावादी हुँदै हामी छलफलमा छौं।"

एकजना मन्त्रीका भनाईमा नेपाली कांग्रेसले अख्तियार प्रमुखविरुद्धको महाभियोगमा साथ दिन संशोधनलाई शर्तको रुपमा अघि सारेकाले प्रधानमन्त्री प्याकेजमै सहमति खोज्ने प्रयासमा छन्।

तर एमालेले संशोधनलाई कुनै मुद्दासँग नसाट्ने बताउने गरेको छ।

अहिलेको राजनीतिक गतिरोध र ध्रुविकरणको कारक बनेका अख्तियार प्रमुखको योग्यता र संशोधन विधेयक दुबै विषयमा सर्वोच्च अदालतमा रिट निवेदन पनि परेको छ।