‘बगदाद बम हमलामा कम्तीमा ३५ को मृत्यु’

  • 2 जनवरी 2017
तस्वीर कपीराइट AFP

इराकमा राजधानी बगदादको एउटा व्यस्त चोकमा भएको कार बम विस्फोटमा कम्तीमा ३५ जनाको ज्यान गएको छ भने अन्य साठी जना घाइते भएका छन्।

इस्लामिक स्टेट समूहले उक्त हमलाको जिम्मेवारी दावी गरेको छ। मारिनेमा धेरै जसो कामको प्रतिक्षामा रहेका दैनिक ज्यालादारी मजदुरहरु भएका बताइएको छ।

सुरक्षा तथा चिकित्सा स्रोतहरुका अनुसार बगदादको सद्र सिटी क्षेत्रस्थित एउटा व्यस्त चौबाटोमा सो आत्मघाती कार बम हमला गरिएको थियो।

राजधानीको पूर्वमा अवस्थित उक्त क्षेत्रमा शिया मुसलमानहरुको बाक्लो वस्ती रहेको छ।

निशाना

सुन्नी जिहादी समूह ‌इस्लामिक स्टेटले आफूहरुले शियाहरुको जमघटलाई निशाना तुल्याएको बताएको छ।

प्रधानमन्त्री हैदर अल-अबादीका अनुसार हमलाकारीले मजदुरहरुलाई काममा लगाउने मान्छेको अभिनय गरेर दैनिक ज्यालादारी मजदुरहरु भेला हुने उक्त स्थानमा प्रवेश गरेका थिए।

मजदुरहरु सो हमलाकारीको कार वरपर जम्मा हुने बित्तिकै विस्फोट गराइएको उनले बताए।

रोएटर्स समाचार एजेन्सीका अनुसार मारिने मध्ये नौजना महिला उक्त हमलाका बेला नजीकैबाट गैरहेको मिनीबसमा सवार यात्रुहरु थिए।

मारिनेहरूमा स्थानीय जांच चौकीमा तैनाथ तीनजना प्रहरीहरु पनि छन्।

तस्वीर कपीराइट Reuters

बम विस्फोट

नजीकैको अल किन्डी अस्पतालको कार पार्कमा भएको अर्को कार बम विस्फोटमा तीनजनाको ज्यान गएको बताइएको छ।

‌इस्लामिक स्टेटले सोमबार बगदादमा तीनवटा कार बम हमला गरेको दावी गरेको छ।

शनिबार मात्रै आइएसले बगदादको एउटा बजारमा २८ जनाको ज्यान जाने गरिएका दुइवटा आत्मघाती बम हमलाको जिम्मेवारी दावी गरेको थियो।

त्यसबेला पनि सुन्नीहरुले धर्म-छाडा भनी आरोप लगाउने शिया समुदायलाई तारो बनाइएको थियो।