मोसुलमा नयाँ सैनिक कारवाहीको तयारी

  • 18 जनवरी 2017
तस्वीर कपीराइट AFP
Image caption मोसुलमा इराकी सेनाले दु्त गतिमा प्रगति गरिरहेको बताइएको छ

अधिकारीहरुले बुधबार मोसुल शहरको पुर्वतर्फको झण्डै सबै भाग कब्जा गरेको बताएका थिए र त्यसपछि पश्चिमी भाग कब्जा गर्ने तयारी भइरहेको हो।

मोसुल इस्लामिक स्टेट भनिने समूहको अन्तिम शहरी अखडा हो। मोसुलको नियन्त्रणको लागि भइरहेको भिडन्त हालसम्म टाइग्रिस नदीको पुर्वपट्टि भइरहेको छ।

प्रतिआतंकवादी प्रमुख तालिब शघतिले विशेष फौजलाई कब्जा गर्न भनिएको सबै क्षेत्र उसले नियन्त्रणमा ल्याइसकेको तर आइएसका केही लडाकु उत्तरपुर्वी जिल्लाहरुमा लुकिरहेको बताएका छन्।

त्यो भन्दा अघिका विवरणमा सेनाले मोसुल शहरको पुर्वतर्फको सबै भाग कब्जा गरिसकेको बताइएको थियो।

आइएसको नियन्त्रण

टाइग्रिस नदीको पश्चिमपट्टिको सबै भूभाग आइएसको नियन्त्रणमा छ।

पुरानो शहरका साँघुरा गल्लीहरु भएको त्यो क्षेत्र कब्जा गर्न सरकारी पक्षका लडाकुका लागि चुनौती हो।

गत महिना मोसुल फेरी कब्जा गर्ने कारवाही थालेयता सेनाले पुर्वी मोसुलमा छिटो प्रगति गरेको छ।

आइएसले त्यो शहर कब्जा गरेको दुई वर्षपछि गत अक्टोबर महिनामै त्यो कारवाही शुरु गरिएको थियो तर आइएसले कडा प्रतिरोध गरेपछि केही समय रोकिएको थियो।

ठुलो कारवाही

त्यो कारवाही थुप्रै वर्ष यताको इराकी सेनाको सबभन्दा ठुलो सैनिक कारवाही हो।

कारवाहीमा इराकी सुरक्षा सेना, कुर्द पेशमेर्गा लडाकु, सुन्नी अरब आदिवासी र शिआ लडाकु संलग्न छन् र अमेरिकी नेतृत्वको गठबन्धका लडाकु विमान र सैनिक सल्लाहकारहरुले त्यसमा सहयोग गरिरहेका छन्।

गत शुक्रबार सेनाले मोसुलको विश्वविद्यालय परिसर कब्जा गर्ने कारवाही थालेको थियो।

त्यो परिसरलाई आइएसका लडाकुले आधारका रुपमा र रासायनिक हतियार उत्पादन केन्द्रका रुपमा प्रयोग गरिरहेको इराकी अधिकारीहरुको भनाई छ।

मोसुल र त्यस वरिपरिका क्षेत्रबाट १ लाख मानिस आफ्नो घर छोडेर भागिसकेका छन् र सरकारी पक्षको फौज शहरमा अझ अघि बढ्दै गर्दा त्यो संख्यामा वृद्धि हुने संयुक्त राष्ट्रसंघका अधिकारी बताउँछन्।