नाटकीय रुपमा किराको संख्या घटेकोमा चिन्ता

  • 19 अक्टोबर 2017
किरा तस्वीर कपीराइट Getty Images

जर्मनीका वैज्ञानिकहरुले गरेको एउटा अध्ययनले ३० वर्ष यता उड्ने प्रजातिहरुका किराको संख्या ठूलो परिमाणमा घटेको निष्कर्ष निकालेका छन्।

जर्मनीका ६३ वटा प्रकृति संरक्षण केन्द्रहरुमा गरिएको अध्ययनले पुतली र मौरी सहित विभिन्न प्रजातिका उड्ने किराहरुको संख्या ७५ प्रतिशत भन्दा बढ्ताले घटेको देखाएको छ।

किराहरुले पराग सेचन प्रकियामा महत्वपूर्ण भूमिका खेल्छन् र उनीहरु चराहरुको आहाराका प्रमुख श्रोत हुन्।

उक्त अध्ययनले किराहरुको संख्यामा आएको त्यस्तो नाटकीय कमीको कारण भने उल्लेख गरेको छैन।

परिमाण

संरक्षण केन्द्रहरुमा सन् १९८९ देखी २७ वर्षसम्म गरिएको अध्ययनले किराको संख्या ठूलो परिमाणमा घटेको देखाएको हो।

वैज्ञानिकहरुले सबै प्रकारका वासस्थान, जमीन र मौसम भएका क्षेत्रमा किराको संख्या घटेको भन्दै त्यस्को कारण पत्ता लगाउन थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्।

संख्यामा आएको गिरावटका कारण किराका कारण लाग्ने रोगका विरामी घट्यो या घटेन भनेर पनि अध्ययन गरिनुपर्ने बताएका छन्।

अनुसन्धानकर्ताहरुले किरा र अन्य जीवित प्रजातिको संरक्षणका लागि स्थापना गरिएका प्राकृतिक केन्द्रहरुमा नै यस्तो नाटकीय घटनाक्रम देखिनु चिन्ताजनक भएको जनाएका छन्।

प्रभाव

तर वैज्ञानिकहरुले धेरैवटा प्रकृति संरक्षण केन्द्रहरु खेतीयोग्य जमिन भएका क्षेत्र नजिक रहेको र खेतमा प्रयोग गरिने किटनाशक औषधीका कारण त्यस्तो भएको हुनसक्ने संकेत भने गरेका छन्।

किरा नष्ट हुँदा त्यसले पृथ्वीको जीवनचक्रमा नै दुरगामी प्रभाव पार्ने चिन्ताहरु प्रकट भएका छन्।

धेरै प्रकारका चराको प्रमुख आहारा किराहरु नै हुन्।

त्यसबाहेक अन्य उभयचर, चमेरा र घर्सने प्रकारका जीवजन्तु पनि किरामा निर्भर छन्।

विगतमा गरिएका अध्ययन भन्दा अहिलेको अध्ययनले देखाएको किराको क्षतिको परिमाण सबैभन्दा ठूलो हो।

सन् १९७३ देखि २००२ सम्म ब्रिटेनको चारवटा स्थानमा गरिएका अध्ययनका क्रममा एक ठाउँमा मात्र किराको संख्या घटेको पाइएको थियो।