पूर्व क्याटलान नेताहरुलाई जेल सजायको माग

  • 2 नोभेम्बर 2017
क्याटलान नेताहरु तस्वीर कपीराइट AFP

स्पेनमा क्याटलान सरकारका आठजना भूतपूर्व सदस्यहरुलाई जेल चलान गर्न सरकारी अभियोजनकर्ताहरुले मड्रिडस्थित उच्च अदालतलाई आग्रह गरेका छन्।

देशबाट क्याटलोनियालाई स्वतन्त्र तुल्याउने अभियान संचालन गरेर विद्रोह र देशद्रोहको अपराध गरेको अभियोग ती नेताहरुलाई लगाइएको छ।

बर्खास्त गरिएका क्याटलान नेता कारलस पुज्डमोन लगायत अन्य पांच नेताले अदालतमा हाजिर हुन दिइएको आदेशलाई अस्वीकार गरेका थिए।

उनीहरु हाल बेल्जियममा रहेका छन्।

उनका वकिलले उनी अदालतमा उपस्थित हुनका लागि वातावरण ठीक नभएको बताए।

निष्पक्ष

कारलस पुज्डमोनले आफू विरुद्धको मुद्दामा निष्पक्ष सुनुवाइ हुने ग्यारेन्टी भएमात्र स्पेन फर्कने बताएका छन्।

नौ जना क्याटलान अधिकारीहरुले विद्रोह, देशद्रोह र सार्वजनिक कोषको दुरुपयोग लगायतका अभियोगहरुमा स्पेनको उच्च अदालत सामु बयान दिएका छन्।

स्पेनको संवैधानिक अदालतको आदेश विपरित गत अगस्ट एक तारिखमा क्याटलोनियामा स्वतन्त्रता सम्बन्धी जनमतसंग्रह आयोजना गरिएयता स्पेनमा संवैधानिक संकट जारी छ।

गत हप्ता स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेका थिए।

त्यहांको क्षेत्रीय संसदलाई भंग गरिएको छ र आगामी डिसेम्बर २१ तारिखका लागि नयां निर्वाचनको घोषणा गरिएको छ।