व्यापारी मस्क्‌को 'फ्याल्कन् हेभी' रकेटको सफल प्रक्षेपण

  • 7 फेब्रुअरी 2018
फ्याल्कन् हेभी तस्वीर कपीराइट SPACEX
Image caption पुतलासहितको यो गाडी मङ्गल ग्रहको कक्षतर्फ पठाउने लक्ष्य थियो

अमेरिकी व्यापारी इलोन् मस्क्‌ले आफ्नो नयाँ रकेट 'फ्याल्कन् हेभी' फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेका छन्।

शटल पद्धति विकसित भएपछि बनेको आजसम्मकै शक्तिशाली उक्त भीमकाय यान कुनै व्यवधानविनै प्रक्षेपणस्थलबाट एट्लान्टिक् महासागरमाथि हुँदै अन्तरिक्षतिर उडेको थियो।

प्रक्षेपणपूर्व यसलाई 'जोखिमपूर्ण परीक्षण उडान' हुने भन्ठानिएको थियो।

'स्पेस्एक्स्'का प्रमुख कार्यकारी मस्क्‌का अनुसार नयाँ रकेट बनाउँदाको चुनौती भनेको यसको सफल उडानको सम्भावना पचास प्रतिशत मात्र हुनु हो।

"मैले एउटा ठूलो विस्फोटसहित बाटोमा पाङ्ग्रा बजारिएको दृश्य देखिएला कि भन्ठानेको थिएँ। तर भाग्यवश त्यस्तो केही भएन," उनले सफल प्रक्षेपणपछि सम्वाददाताहरूलाई भने।

भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

सर्वाधिक अनुभवी अन्तरिक्षयात्रीको निधन

क्षमता

यो परीक्षणसँगै 'फ्याल्कन् हेभी' उपलब्ध प्रक्षेपण यानमध्ये सबैभन्दा क्षमतावान् ठहरिएको छ।

यो यान पृथ्वीको तल्लो कक्षसम्म अधिकतम ६४ टन भार लैजान बनाइएको हो।

मस्क्‌का अनुसार यो भारक्षमता अर्को शक्तिशाली रकेट 'डेल्टा ४ हेभी'को भन्दा दुई गुणा पनि बढी हो र यो त्यसको एक तिहाइ खर्चमै निर्माण भएको हो।

यो प्रयोगात्मक र अनिश्चित उडानमा मस्क्‌ले आफ्नो पुरानो रातो टेस्ला स्पोर्ट्स् कार पठाएका छन्।

जापानी आन्तरिक्षयात्रीले किन मागे माफी?

मङ्गलतर्फ

अन्तरिक्षयात्रीको पोसाकमा एउटा मानवाकारको पुतला पनि त्यो गाडीको चालक बस्ने आसनमा राखिएको छ।

टेस्ला र त्यो पुतलालाई पर मङ्गल ग्रहसम्म पुग्ने सूर्य वरपरको अण्डाकार कक्षमा पठाइएको छ।

'फ्याल्कन् हेभी' स्पेस्एक्स्‌का तीन यन्त्र फ्याल्कन् ९ यानहरूसँगै जोडेर बनाइएको हो।

प्रक्षेपणपछि रकेटका तीनमध्ये दुई भाग पृथ्वीमा नियन्त्रित रूपमा उतारिएका थिए। तेस्रो भाग चाहिँ समुद्रमा तीव्र गतिमा खसेर नष्ट भयो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अमेरिकाको अन्तरिक्ष अभियान