लोप भयो रञ्जितकारहरूको रङ्ग बनाउने ज्ञान

  • 3 मार्च 2018
रङ्ग

कुनै बेला काठमाण्डू उपत्यकामा रङ्ग उत्पादनको केन्द्र रहेको मजिपाट टोलमा हिजोआज कसैले ठूला भाँडामा रङ्गहरू उमाल्दैनन्।

प्राकृतिक सामग्री प्रयोग गरी विभिन्न रङ्ग बनाउने गरेको रञ्जितकार समुदायले हिजोआज त्यो सीप बिर्सिसकेको स्थानीयवासी रामबहादुर रञ्जितकार र उनका दाइ कृष्ण रञ्जितकार बताउँछन्।

"हाम्रा बाबुबाजेले ओखर, छोगडाजस्ता सामानहरू हालेर रङ्ग बनाउँथे," ५४ वर्षीय राम रञ्जितकारले भने, "तर हामी त्यस्तो रङ्ग बनाउन जान्दैनौँ।"

रञ्जितकार दाजुभाइका अनुसार उनीहरूले थाहा पाएदेखि नै रासायनिक रङ्गहरूको प्रयोग हुँदै आएको छ।

होली: रंगको रौनक

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
फागुका गीतहरू

महत्त्व

काठमाण्डूमा लिच्छवीकालदेखि रङ्ग बनाउने व्यवसायका अभिलेख रहेको यस विषयका जानकार बताउँछन्।

तर रूखबिरुवा, जडीबुटी र ढुङ्गासमेत प्रयोग गरेर सयौँ वर्षदेखि रङ्ग बनाउँदै आएको रञ्जितकार समुदायका सदस्यहरूसँग अहिले त्यसको ज्ञान बाँकी नरहेको देखिन्छ।

केही दशक अघिसम्म पनि दुर्लभ बैजनी रङ्गलाई विशेष महत्त्वका साथ हेरिने गरेको पत्रकार कुमार रञ्जित सम्झन्छन्।

"बैजनी रङ्गलाई रञ्जितकारहरूले कुलदेवता मान्छन्। घरको अँध्यारो कुनामा एउटा घ्याम्पोमा राखेर त्यसलाई देवतासरह पूजा गरिन्छ।"

"त्यसलाई औषधि पनि मानिन्थ्यो र मैले थाहा पाएसम्म घ्याम्पोबाट सुकिसकेको रङ्ग खुर्केर सुत्करी महिलाले खान्थे, मानिसहरूले घाउ चोटमा लगाउँथे।"

झन्डै ८० वर्षअघि भारतबाट रासायनिक रङ्गहरू भित्रिन थालेपछि भने प्राकृतिक रङ्गको खासै माग नभएको रञ्जितकारहरूको अनुभव छ।

कतिपय रञ्जितकारहरू बिस्तारै रासायनिक रङ्गप्रति आकर्षित भए भने पछिल्लो समयमा अधिकांशले आफ्नो परम्परागत पेशानै छोडिसकेका छन्।

भक्तपुरमा रञ्जितकार

कुनै बेला रञ्जितकारहरूको बाक्लो बस्ती रहेको भक्तपुरको नागपोखरी क्षेत्रमा अहिले एक दुइ घरमा रङ्गको काम हुन्छ।

आफूलाई कसैले रङ्गीन कपडा बनाउन दिएमा मात्रै काम गर्ने स्थानीयवसी निरु रञ्जितकार बताउँछिन्।

"अहिले यता वरिपरि रङ्ग बनाउने म मात्रै छु। कसैले अर्डर दिएमा जात्राहरूको लागि हाकुपटासी र खास्टोमा रातो र कालो रङ्ग लगाउँछु। तन्ना पनि बनाउन सक्छु तर त्यसको खासै माग छैन," उनी भन्छिन्।

मजिपाटका कृष्ण रञ्जितकारले भने केही वर्ष अघिसम्म काठको साँचोहरूलाई रङ्गमा डुबाउँदै कपडा र नेपाली कागजमा छिपो लगाउने गर्दथे।

उनले बनाउने ती सामग्री बजारभाउ भन्दा महँगो पर्ने र धेरैजसो विदेश निर्यात हुने गर्दथे।

त्यस्तो सामान बनाउन धेरै खट्नु पर्ने तर आम्दानी भने धेरै नहुने भएपछि त्यो पेशामा रञ्जितकारहरूको रुची पनि घटेको उनी बताउँछन्।

रासायनिक रङ्गको बाहुल्य र रङ्गीन कपडाहरू तयारी अवस्थामै सजिलै पाइने भएपछि नेपालको सयौँ वर्ष पुरानो मानिने रङ्ग बनाउने स्थानीय ज्ञान विस्मृतिमा लोप भएको देखिन्छ।