'नेपाली सेनामा भर्ना हुन नक्कली प्रशिक्षार्थी'

  • 24 मार्च 2018
सेना तस्वीर कपीराइट Nepal Army

नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेका ११ जना मध्ये एक जना बानेश्वरस्थित रत्नराज्य स्कूलमा रहेको परीक्षा केन्द्रबाट र अन्य १० जना कोटेश्वस्थित सीआईटी कलेजबाट पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानकर्ताहरुले सेनाको परीक्षामै नक्कली परिक्षार्थीहरु भेटिएको यो सम्भवत: पहिलो घटना भएको बताएका छन्।

नेपाली सेनाको तल्लो दर्जा अर्थात् सैन्यतर्फको लिखित परीक्षामा शनिवार लोकसेवा आयोगले तोकेको विभिन्न केन्द्रहरुमा परीक्षार्थीहरुले भाग लिएका हुन्।

नेपाली सेनाको सिपाइमा भर्ना हुनका लागि लिइने परीक्षामध्येको एकको लिखित परीक्षामा सहभागी भइरहेका बेला नै उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

नक्कली प्रमाणपत्र प्रकरण , कैयौं डाक्टर पक्राउ

नक्कली प्रमाणपत्र छानबिन जारी रहन्छ: प्रहरी

Image caption प्रहरीले ११ जना नक्कली परीक्षार्थी सहित १२ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ

नियन्त्रण

त्यसक्रममा सेनाकै अधिकृत, लोकसेवा आयोगका प्रतिनिधिकै सूचनाका आधारमा नक्कली परीक्षार्थीहरुलाई काठमाण्डूका दुई केन्द्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विश्वराज पोखरेलले बताए।

उनले भने, ''नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिने परीक्षार्थीमध्ये केहीले नक्कली परीक्षार्थी बनाएर पठाएको जानकारी प्राप्त गरेपछि नेपाली सेनाबाट खटिएका अधिकृत, लोकसेवा आयोगका प्रतिनिधि र प्रहरी समेतको सहयोगमा त्यस्ता प्रशिक्षार्थी पत्ता लगाई नियन्त्रणमा लिई अनुसन्धान गरिंदैछ।''

पक्राउ पर्नेमा ११ जना नक्कली परीक्षार्थी र एकजना स्वयम् नक्कली परिक्षार्थी खटाउने ठानिएका परिक्षार्थी रहेको बताइएको छ।

उनीहरुमध्ये चार महिला छन्।

नेपाली सेनाको परीक्षाहरु लोकसेवा आयोगले नै लिने भएकोले सोही बमोजिम परीक्षाका नियमहरु पालना हुनुपर्ने भन्दै सेनाले त्यसको अनुसन्धानमा आफ्नो कुनै भूमिका नरहने बताएको छ।

कारबाही

तर अनुसन्धानमा आवश्यक परे आफूहरुले सघाउने नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी गोकुल भण्डारीले बताए।

उनले भने, ''नेपाली सेनामा आउने व्यक्तिहरुको लागि लिइने परीक्षामा लिखित परीक्षा सम्पूर्ण रुपमा लोकसेवा आयोगले लिने भएको कारणले आयोगको आफ्नै नियम कानुन अनुसार नक्कली परीक्षार्थीलाई प्रहरीले कारबाही गर्छ। अब हामीले केही सहयोग गर्न परेमा गरिहाल्छौं।''

पक्राउ परेकालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको सहभागिताको गम्भीरता र आकर्षित हुने ऐन अनुसार हुने कारबाहीबारे भोलि टुङ्गो लाग्ने प्रहरीको भनाइ छ।

सुरक्षा निकायमा रोजगारीका लागि नक्कली परीक्षार्थीहरु सहभागी भएको यस्ता घटना विरलै देखिने गरेको अधिकारीहरु दावी गर्छन्।

सम्बन्धित सामग्री