उत्तर-दक्षिण कोरिया: दुई नेताबीच एप्रिल २७ मा शिखर वार्ता

  • 29 मार्च 2018
कोरिया तस्वीर कपीराइट EPA

उत्तर र दक्षिण कोरियाका नेताहरूले आउँदो एप्रिल महिनाको अन्तिम साता भेटवार्ता गर्ने तय भएको छ।

एउटा संयुक्त वक्तव्यमा जनाइएअनुसार उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भेटवार्ता हुनेछ।

उक्त शिखर वार्ताको तयारी लागि दुई देशका अधिकारीहरूबीच भेटवार्ता भएपछि यो घोषणा भएको हो।

एप्रिल २७ मा तोकिएको शिखर वार्ता एक दशकपछि पहिलोपटक हुन लागेको हो।

यही साता उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बेइजिङमा भेटवार्ता भएको थियो।

सो भेटवार्तामा उत्तर कोरियाली नेताले कोरियाली प्रायद्वीपलाई परमाणु निश्शस्त्रीकरण गर्न प्रतिबद्धता जनाएको बताइएको छ।

हालसालै किमले अमेरिकी राष्ट्रपतिसँग आफूले भेट्न चाहेको पनि बताएका थिए। उक्त प्रस्ताव ट्रम्पले स्वीकार पनि गरे। त्यसलाई ट्रम्पको महत्त्वपूर्ण विदेशनीति निर्णयको रूपमा हेरिएको छ। ट्रम्पले छिटोमा मे महिनासम्म भेट्न सकिने बताएका थिए।

तर चीनका लागि अमेरिकी राजदूतले बीबीसीसँग कुरा गर्दै परमाणु निश्शस्त्रीकरण गर्ने किमको प्रतिबद्धतामा आफूलाई विश्वास नरहेको बताए।

पान्मुन्जोममा

अन्तर कोरियाली शिखर वार्ता सीमावर्ती पान्मुन्जोममा हुनेछ। मिलाप गराउने गाउँका रूपमा चित्रित उक्त स्थानमा रहेको 'साउथ कोरियन पिस हाउस'मा वार्ता हुने बताइएको छ।

सन् १९५३ मा कोरियाली युद्ध अन्त्य गर्ने गरी भएको सम्झौतापछि दुई देशका नेताले दुई पटकमात्रै भेटेका छन्। आगामी भेटवार्ता तेस्रो हुनेछ।

यसअघि सन् २००७ मा उत्तर कोरियाका पूर्व नेता किम जङ इल र पूर्व दक्षिण कोरियाली राष्ट्रपति रो मु ह्युनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा शिखर वार्ता भएको थियो।

त्यसअघि सन् २००० मा त्यस्तो वार्ता भएको थियो।

तर ती वार्ताहरू कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न भने असफल रहेको देखिन्छ।