एमाले-माओवादी एकताले नबाँधेका नेताका 'व्यथा'

  • 6 एप्रिल 2018
झा, अर्याल, बिष्ट तस्वीर कपीराइट BBC/Facebook

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुँदै गरेको एकताको कसरतले दुवैतर्फ सबैलाई उत्साहित तुल्याएको छैन।

कतिपयका निम्ति एकता काँडा बनिदियो र उनीहरूले पार्टी छाडे। कतिपय पार्टीभित्रै छन् तर उनीहरूमा आफ्नो भूमिका खुम्चिने हो कि भन्ने शङ्का पाइन्छ।

एकता प्रक्रिया अघि बढेसँगै विगतका कतिपय चर्चित नेता दृश्यमा छैनन्।

तिनैमध्येकी एक हुन्, उर्मिला अर्याल।

अर्यालले अहिलेको माओवादीको माउ मानिने 'चौथो महाधिवेशन'मा गाँसिएर पञ्चायतकालमै कम्युनिस्ट राजनीतिको दैलो टेकेकी हुन्।

अनिश्चितता

२०४६ सालको परिवर्तनपछि एमाले बनेकी उनले करिब १५ वर्षपछि मन्त्री बन्ने अवसर पाइन्।

तर पाँच वर्षअघि एमाले छाडिन् र माओवादी बनिन्। त्यहाँ पाएको हैसियत एकीकृत पार्टीमा कायम रहनेमा उनलाई नै विश्वास छैन।

तस्वीर कपीराइट Urmila Aryal/Facebook

हाँस्दै भन्छिन्, "त्यता (माओवादीमा) हाइकमान्डमै थिएँ। घालघुल हुँदा कहाँ पुगिन्छ थाहा छैन।"

"स्थायी कमिटीमा पदाधिकारी मात्र पर्लान्, मैले आश पनि गरेकी छैन। सय सदस्यभन्दा कम भए पोलिटब्युरोमा पनि नपरिएला।"

जे भए पनि त्यसलाई आत्मसात् गर्ने मनस्थिति बनाएकी उनी थप्छिन्, "नेता भनेको त्यो भन्दा माथि उठेर समाजको पनि नेता बन्नु पर्छ।"

एमालेमा मधेशी समुदायका वरिष्ठ नेतामध्ये थिए, रामचन्द्र झा।

असन्तुष्टि

जातीय, क्षेत्रीय, भाषिक र संस्कृतिक पक्षमा उनलाई एमालेभन्दा माओवादी उदार लाग्यो। त्यसैले ३५ वर्षदेखि सम्बद्ध पार्टी 'निर्ममतापूर्वक' छाडिदिएको उनको भनाइ छ।

तस्वीर कपीराइट Ramchandra Jha/Facebook

संविधान जारी हुँदा माओवादीको भूमिकाप्रति पनि उनी असन्तुष्ट देखिए। बाबुराम भट्टराईले नयाँ दल खोलेपछि त्यतै लागे। तर धेरै टिकेनन्। माओवादीमै फर्किए।

आफ्नो पुरानो दल एमाले र अहिलेको पार्टीबीच हुने एकतापछिको आफ्नो हैसियतको निर्क्योल कसरी गरिन्छ भन्ने कुरा उनी ध्यानपूर्वक हेरिबसेका छन्।

भन्छन्, "यदि सम्मानजनक भूमिका दिने गरी सोच्नुहुन्छ भने ठिकै छ। होइन भने एउटा सामान्य नागरिक भएर बस्न सक्छु तर नतमस्तक भएर मलाई यो दिनोस् भनेर भन्न जान्नँ। उहाँहरू कसरी गर्नुहुन्छ, म हेर्दैछु।"

जारी एकता प्रक्रियाप्रति भने झा र अर्याल दुवैले प्रसन्नता नै दर्शाए।

सम्भावना

तर पुरानै दलमा रहिरहेको भए अहिले उच्च तहको हकदार भइन्थ्यो कि भन्ने चुकचुकी उनीहरूलाई लाग्दो हो?

मनको कुरा खोल्दै अर्याल भन्छिन्, "अलिअलि लाग्छ। तपाईँलाई ढाँट्ने कुरा हुँदैन। किनभने अब एमालेले पनि मलाई पहिलेजस्तो श्रद्धाले हेर्छ कि हेर्दैन? माओवादीमा पनि ठूलै समूह लिएर गएकी होइन।"

राजनीतिमा लामै यात्रा गर्ने विचार राखेको सङ्केत दिँदै उनी भन्छिन्, "दुईचार वर्ष अझै पनि राजनीति गरिएला नै। फेरि पनि आफ्नो भूमिकाले स्थापित हुन सकिन्छ।"

उर्मिला अर्याल महिला। रामचन्द्र झा मधेशी समुदायका।

पीडा

तस्वीर कपीराइट Courtesy: PRADEEP GYAWAL
Image caption एकताका लागि सहमतिपत्रमा हस्ताक्षर गर्दै केपी शर्मा ओली र पु्ष्पकमल दाहाल 'प्रचण्ड'

पार्टीमा लगानीको हिसाबले लामो अनुभव थियो। तर झाको मन गुनासोले टम्म भरिएको रहेछ।

झा भन्छन्, "म यस्तो थोरै अभागीभित्र पर्छु कि हामी गाउँ कमिटीदेखि जिल्ला, अञ्चल, केन्द्र हुँदै पोलिटब्युरोमा पुग्ने। तर मार्क्सवादको आधारभूत ज्ञान नभएकालाई रातारात केन्द्रीय कमिटीमा मनोनीत गर्ने? अरूको तुलनामा हामीलाई हेप्ने होच्याउने यो पीडा अहिले पनि मेरो मनमा छ। यस्तो किन?"

माओवादी केन्द्रका अर्को नेता लोकेन्द्र बिष्ट मगर त अहिले एकता प्रक्रियाबाटै बाहिरिएका छन्।

'पार्टी हैन, पाटी'

माओवादीले बन्दुक उठाउनुअघि २०५१ सालमै उनी कृष्णबहादुर महराभन्दा पहिल्यै केन्द्रीय सदस्य थिए। आफ्नो दल 'पार्टी नभई पाटी-पौवा-चौतारोजस्तो भएको' नमिठो अनुभवपछि उनी २० वर्षपछि २०७१ सालमा निष्क्रिय बने।

तस्वीर कपीराइट Lokendra Bista/Facebook

अध्यक्ष प्रचण्डको प्रस्ताव र केन्द्रीय समितिको आग्रहपछि पुरानै जिम्मेदारीसहित राजनीतिमा सक्रिय भएको बताउँदै उनी भन्छन्, "तर काम गर्दै जाँदा फेरि पार्टीको चालामाला नसच्चिएपछि एकता घोषणाअघि म निस्किएँ।"

"अब उहाँहरू एकएकै खालको विचार, राजनीति र चरित्र बोकेका गैरकम्युनिस्ट पार्टी हुनुभयो," व्यङ्ग्यात्मक शैलीमा उनी थप्छन्, "त्यसैले उहाँहरूलाई गाली किन गरौँ र? शुभकामना नै दिऊँ।"

पार्टी नेतृत्वबाट आफूलाई दिइएको वचन उल्लङ्घन भएको उनको ठम्याइ छ। तर त्यसो हो भने लामो सङ्गत गरेको नेतृत्वलाई चिन्न उनी किन चुके?

भुलको अनुभूति छ कहीँ कतै?

भन्छन्, "मैले जे गरेँ त्यो ठिक गरेको छु। तर उहाँ पो अर्कै बाटो लाग्नु भयो। आफ्नै तालमा नाच्नुभयो।"

"माओवादी, माओवादी पार्टी रहेन र मेरो पार्टी रहेन। गरिब, दु:खी, शोषित, पीडित, सर्वहाराको पार्टी रहेन। त्यसैले म त्यहाँ बस्दिनँ भनेको न हो।"

'पुनर्मूषिको भव'

आफूले संशोधनवादी भन्दै आएको एमालेसँग एकता गर्ने निचोडमा पुगेका प्रचण्डको नेतृत्वमा माओवादी वर्षौँदेखि चर्को मतभेदबाट गुज्रिएको थियो। शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न बैठकहरूमा व्यापक बहसहरू भएका थिए।

प्रचण्ड अन्य वाम दलसँग पनि एकता गर्ने लक्ष्य रहेको बताउने गर्छन्।

तस्वीर कपीराइट RSS

तर दुई दलबीचको एकतामा आफू जोडिने सम्भावना नरहेको बताउँछन् प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य।

भन्छन्, "हामीले संसदीय व्यवस्थाविरुद्ध संघर्ष गर्दै आएका हौँ। तर उहाँहरूको एकता त त्यही व्यवस्थामा 'पुनर्मूषिको भव' भने जस्तो पो भयो।"

सात वर्षअघि उनै नेता वैद्यले गोरखाको पालुङटार बैठकको बन्दसत्रमा एउटा गीत सुनाएका थिए: फाटेको जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको

'विचलनोन्मूख'को दोष खेपेका प्रचण्डप्रति लक्षित उसबेलाको व्यङ्ग्य अहिले सत्य साबित भएको ठान्नेहरू एकता त्यसकै उत्कर्ष भएको आरोप लगाउँछन्।

लामो संसदीय अभ्यास गरेको एमालेभित्र पनि कतिपयमा एकतालाई लिएर संशय नभएको होइन।

तैपनि एकता यात्रामा एमाले 'एक ढिक्का' रहँदा प्रचण्डसँग भने अहिले मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द पनि छैनन्।

५०-५० प्रतिशतका आधारमा मात्र एकता हुने भन्ने प्रचण्डको भनाइबारे जनार्दन शर्मा

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
जनार्दन शर्मासँग

सम्बन्धित सामग्री